१८ असार, रूपन्देही । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको टोलीले बुद्वजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीका बारेमा अध्ययन गर्न आएको टोलीले सोमबार लुम्बिनीको भ्रमण गरेको हो ।पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा सांसद योगेश भट्टराईको नेतृत्वमा गठन गरेको सार्वजनिक लेखा उपसमिति टोलीले शान्तिदीप, मायादेवी मन्दिरको अवलोकनका साथै केही विहार क्षेत्रहरूको अवलोकन गरेका हुन् । यसअघि आयोजित छलफलमा लुम्बिनी विकास कोषको अवस्था, सम्पादन भएका कार्यक्रम र लुम्बिनी गुरुयोजनाका विषयमा छलफल गरिएको थियो ।
सो अवसरमा सदस्य भट्टराईले लुम्बिनी विकास कोषको संरचना परिवर्तन गर्नुपर्ने बताए । उनले कोषको ऐनले प्रदेश र स्थानीय तहलाई नचिन्ने बताउँदै त्यसलाई परिमार्जन गर्दै स्वायत्त र शक्तिशाली लुम्बिनी विकास तथा पर्यटन प्राधिकरणका रूपमा विकास गर्नुपर्ने बताए । उनले भने, ‘केञ्जोटागेले निर्माण गरेको लुम्बिनी गुरुयोजनाका बाँकी काम सकेर गुरुयोजनालाई पनि समय अनुकूल बनाउनुपर्छ ।’ सांसद भट्टराईले लुम्बिनी विकास कोषको वार्षिक आम्दानी निकै न्यून रहेको, विकासका लागि बजेट अभावका सन्दर्भमा समितिका तर्फबाट सरकारको ध्यानाकर्षण गराउने बताए।