अभिभावकै चाहानाअनुसार पोखरा महानगरपालिका वडा नम्बर १२ ले विद्यालयमा ‘संस्कार शिक्षा’ पढाउने नीति लिएको छ । पोखरा–१२ को शितलादेवी र अमरसिंह माविमा संस्कार शिक्षा पठनपाठन सुरु भएको छ भने भने निजी विद्यालयहरूले संस्कार शिक्षा पढाउन रुचि देखाएका छन् । कक्षा ६, ७ र ११ मा थप विषयका रूपमा संस्कार शिक्षा पढाउन लागिएको हो ।
‘अहिलेका बच्चामा कोसँग कस्तो व्यवहार गर्ने भन्ने कुराकै ज्ञानको कमी देखिन्छ । हाम्रा सम्बन्ध र सामाजिक मूल्य मान्यताको महत्व नै सिकाउनुपर्ने देखियो । संस्कृतदेखि संस्कारसम्मका ज्ञान विद्यालय शिक्षाले दिन सकिरहेको छैन,’ पोखरा–१२ का वडाध्यक्ष सन्तोष बास्तोलाले भने, ‘त्यसैले हामीले पोखरामै पहिलो पटक विद्यालयमै संस्कार शिक्षा पढाउने नीति लिएका हौं ।’
डा. स्वामी केशवानन्दले तयार पारेको संस्कार शिक्षा पाठ्यपुस्तकमा संस्कृतका श्लोक, विभिन्न मन्त्रदेखि चाडपर्वका महत्व, मानवीय मूल्यमान्यतासमेत समावेश गरिएको छ । नीतिगत रूपमै सबै सामुदायिक र निजी विद्यालयमा पनि संस्कार शिक्षा सुरु गर्न स्थानीयले माग गरेका छन् ।
पोखरा–१२ ले शुक्रबार गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयले सबै विद्यालयमा संस्कार शिक्षालाई अनिवार्य गर्ने गरी पाठ्यक्रम र पाठ्यपुस्तक तयार गर्न माग गरेका हुन् । पोखरा–१२ का डिराराम लामिछानेले भने, ‘समाज, संस्कृति, रहनसहनलाई कसरी जीवनोपयोगी बनाउने, संस्कार के हो र यसको महत्व बुझाउने गरी पाठ्यक्रमको विकास गरौं र सबै विद्यालयमा अनिवार्य गरौं ।’ संस्कार शिक्षा देशमा विद्यालयमा अाबस्यक छ ।