News Portal

काठमाडौं उपत्यका वरपरका पदयात्रा गर्ने समूहमाथि लुटपाट बढ्दाे, ११ वर्ष जेल बसेर निस्केपछि पून लुटपाट

जनादेश संवाददाता२०८१ श्रावण १५
१५ पटक

१५ साउन, रुपन्देही। शनिबार पक्राउ परेका धनबहादुर स्याङ्तान श्रंखलाबद्ध लुटपाट, जबरजस्ती करणी, करणी उद्योगमा समेत संलग्न व्यक्ति रहेको खुलेको छ ।

पछिल्लो समय उनी लगातार ७ वटा लुटपाटको घटनामा संलग्न रहेको खुलेको छ । उनीसहितको समूहले मान्छेलाई हातखुट्टा बाँध्ने, बन्धक बनाउने र खुकुरी देखाउँदै लुटपाट गर्ने गरेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

पछिल्लो पटक १२ साउनमा नागार्जुन नगरपालिका–७ स्थित बिन्ध्यबासिनी जंगलमा लुटपाट गरी भाग्ने क्रममा स्याङ्तान काठमाडौंको स्यूचाटारबाट पक्राउ परेका थिए । कारमा जंगल घुम्न आएका ६ जना व्यक्तिहरुको सुनचाँदी, मोबाइल र नगद लुटपाट गरी भाग्दै गरेको अवस्थामा प्रहरीले उनलाई स्यूचाटारबाट पक्राउ गरेको थियो ।

उनको साथबाट प्रहरीले ७ तोला ६४ लालका सुनका गरगहना, ४.७९ तोलाको चाँदीको गहना र नगद १३ हजार ४ सय रुपैयाँ बरामद गरेको थियो । प्रहरीले उनीबाट लुटपाटमा प्रयोग भएको दुई थान खुकुरीसमेत बरामद गरेको छ । यो समूहका अझै कम्तीमा ५ व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका स्याङ्तानमाथि डाँकाचोरी तथा जबर्जस्ती करणी उद्योगको कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । स्याङ्तान पक्राउ परेपछि अनुसन्धान गर्दा हाइकिङ जाने व्यक्तिमाथि लुटपाट गर्ने समूहका मुख्य व्यक्ति रहेको खुलेको प्रहरीले जनाएको छ ।

उनी डाँकाचोरी तथा बलात्कारको कसुरमा साढे ११ वर्षभन्दा बढी समय जेल बसेर ११ माघ २०८० मा मात्रै छुटेर पुन अपराधकर्ममा लागेको खुलेको छ ।

जेलबाट निस्केको २ महिनापछि नै स्याङ्तानले लुटपाट सुरु गरेका थिए । २९ चैत २०८० मा चन्द्रागिरी नगरपालिका–८ चालेख देउरालीमा टहरामा होटल सञ्चालन गरी बस्ने इन्द्रकुमारी लामालाई स्याङ्तानको समूहले लुटपाट गरेको थियो ।