News Portal

  • चोरहाँगा

    जनादेश संवाददाता२०८१ बैशाख १८
    २० पटक

    मोदनाथ मरहट्टा

    २०८१ बैशाख १ ०७:१२

    शनिबारीय साहित्य : निबन्ध
    *** ***

    प्रकृतिमा हुने बनस्पतिमा पनि केही अस्वाभाविक गुणहरू हुने गर्छन् । खासगरी काँडा हुने अमिलो जातको बनस्पति सुन्तला, कागती र निबुवा जातका फलबृक्षका मूल हाँगाको पेटबाट मसिना मुना निस्कन्छन् र बढ्न थाल्छन् । त्यस्ता मुना यति छिटो बढ्छन् कि रुखका अरू हाँगाबिँगा भन्दा सग्ला सल्काइला र चिल्ला पात भएर हलक्कै हुन्छन् । त्यस्ता हाँगालाइ चोरहाँगा वा सोसाह हाँगा भनिन्छ । ती हाँगामा दाना त लाग्दैनन् तर त्यस्तो हाँगाहरू पलाएपछि रुखको उत्पादन शक्ति पनि खस्कँदै जान्छ । बाहिरबाट हेर्दा रुखको सौन्दर्य त देखिन्छ तर गुणमा भने आफ्नै कारणले कमजोर हुँदै जान्छ । केही समयपछि ती चोरहाँगाहरू टुप्पो मर्दै जान्छन् । यस्ता हाँगामा बिरूवामा लाग्ने परजीवी पनि पलाउँदैन र यी चोरहाँगाले बिरूवाले उत्पादन गरेको खाना आफुहरूले सोसेर लिन्छन् र मूल हाँगा र सहायक हाँगालाई कमजोर पार्दै लग्छन् । पारखी किसानहरूले यस्ता हाँगा पलाउने लक्षण देख्ने बित्तिकै उपचारमा लाग्छन् । उनीहरू रासायनिक बोडो वा प्राकृतिक गोबरमाटो दलेर क्षती हुनबाट जोगाउँछन् । चोरहाँगा पलाएर रुख झ्याम्मिएकोमा मख्ख पर्ने किसानहरू भने समयमा पहिचान हुन नसक्दा नोक्सानी ब्यहोर्छन् र हिस्स पर्छन् । चोरहाँगाले सिङ्गो रुख मार्न त सक्दैन तर नपुङ्सकतामा परिणत गराउँछ ।

    वनस्पतिमा मात्र होइन चोरहाँगाको बिगबिगी समाजका हरेक क्षेत्रमा मौलाएको छ । खास गरेर यो प्रबृत्ति राजनीतिभित्र बढी देखिन्छ । हरेक राजनीतिक सङ्गठनको आआफ्नो लक्ष्य हुन्छन् तर त्यही सङ्गठनभित्रबाट विचार वा कार्यदिशालाई तोडमोड गरेर नयाँ पात्रहरू जन्मन्छन् र सङ्गठनको आदर्शलाई खस्काउँछन् । राजनीतिमा यस्तो प्रबृत्तिलाई घुसपैठ पनि भन्ने गरिन्छ । यस्ता पात्रहरूले आफुलाई अब्बल दर्जाको हुँ भन्न पनि पछि पर्दैनन् । यिनीहरू झट्ट बुझ्दा आगोको धिप्धिपे ज्वालामा ह्वात्त पेट्रोल खन्याउँदा हुरुरु बलेर ज्वाला उठेझैँ उठ्छन् तर पेट्रोलको अंश शेष भएपछि सर्लक्क निभ्छन् । यस्ता पात्रहरूको मातृसङ्गठनभित्रको जरा वा काण्डसँग खास सम्बन्ध रहँदैन । पिँधका समर्थकसित झन् घुलमिल हुने कुरा भएन । मातृसङ्गठनहरूले स्थापना कालदेखि खटेको दु:ख पीडाप्रति यस्ता पात्रहरूले सरोकार राख्दैनन् । उनीहरूको मुख्य काम भनेको आफ्नो स्वरूपलाई अरूभन्दा उँचो देखाउनु र रस चुसेर खोक्र्‍याउनु मात्र हुन्छ ।

    हामीले देखे भोगेका छौँ, हाम्रै भूमिभित्र भोक रोग निराशालाई निमिट्यान्न पार्ने कसम खाएर जन्मिए हुर्किएका राजनीतिक सङ्गठनहरूले विचार विज्ञानमा खार्दै लग्नुको सट्टा आफुभित्र पलाएका चोरहाँगाको लहैलहैमा लागेर स्वत्व गुमाउँदै गएका छन् । आफ्नो मूल लक्ष्य र चरित्रमा अडिन नसक्नु र आफुभित्र पलाएका परजीवी चिन्न नसक्नु चोरहाँगाले डल्लिनु हो । माथि नै भनिएको छ कि चोरहाँगा र मूलहाँगाको रूप त एउटै हुन्छ तर गुणमा भने फरक पर्छ । अमिलो जातका बनस्पती त अचेतन हुन्छ र आफुसँगै जन्मिएको चोरमुना चिनेर निषेध गर्न सक्दैन तर राजनीतिक सङ्गठनहरू भने चेतनायुक्त हुन्छन् उनीहरूले बेलैमा पहिचान गर्न सक्नु पर्दथ्यो तर उनीहरू किन यसतर्फ ध्यान दिदैनन् ?

    चोरहाँगाहरू धर्म, संस्कृती, कला, साहित्य, र दर्शनभित्र पनि पलाएका हुन्छन् । विश्वलाई बुझ्ने र बदल्ने दार्शनिक मान्यता बोकेको माक्र्सवादभित्रबाट पनि चोरहाँगाहरू पलाएर फैलिएका छन् । माक्र्सवादभित्रको एउटा अंशमा टेकेर माक्र्सवादमाथि धावाबोल्ने एउटा अंश उत्तर आधुनिकता नाम गरेको चिन्तन पनि चोरहाँगा हो । पूँजीवादभित्र बौरिँदै गरेको नवउदारवाद या उपभोक्तावाद पनि चोरहाँगा नै हुन् । हिन्दूसंस्कृतिभित्र पनि असङ्ख्य चोरहाँगाहरू पलाएका छन् । धर्मको नाममा विभिन्न मत र सम्प्रदायहरू सल्बलाएका छन् हामी हिन्दू धर्मभित्र पनि यस्तो मान्यता देखिरहेका छौँ । यिनीहरू धर्मको नामका चोरहाँगा हुन् ।

    हामीले सुनेका छौँ कतिपय उच्च ओहोदाका कर्मचारीहरूले आफ्ना शैक्षिक प्रमाणपत्र फर्जी पेश गरेर बढुवा वा पुरस्कार लिने गरेका छन् । यो प्रबृत्ति पनि चोरहाँगे नै हो ।

    कला साहित्यभित्रकै विवेचना गर्दा प्रगतिवादी कित्ताभित्र पनि असङ्ख्य चोरहाँगाहरू पलाएका छन् । उनीहरू प्रगतिवादको निहुँमा पाठकहरूको विचारलाई धार लगाउनुतिर भन्दा भुत्त्याउनतिर लागेका हुन्छन् । विचारलाई केन्द्रमा राखेर सिर्जना गरेर जनचेतना विकास गराउनुको सट्टा आफू प्रचारमा आउन अनेक हर्कत गरेका हामीले देखिरहेछौँ । यस्ता बिसङ्गत पक्षहरूले समाजलाई सपाट रूपमा अगाडि जान अवरोध गरेका हुन्छन् ।

    अब अलिकति माओवादी जनयुद्ध र त्यसभित्र पलाएका चोरहाँगा बारे छलफल गरौँ । एउटा मूल स्प्रिट बोकेर महान् अभियानमा होमिएको पार्टिभित्र अहिले चोरहाँगाहरू पलाएका छन् । एउटा तप्का मुल बृक्षको रूपमा त अहिलेसम्म अडिएको छ तर माक्र्सवादको मुलमर्म नयाँजनवादी क्रान्तिको उद्देश्यलाई चटक्कै छोडेर संसदवादमा हामफालेको एउटा तप्का चोरहाँगाको सङ्क्रमणले गाँजेजस्तै ठिँगुरिदै गएको छ । जसरी नेकपाको इतिहासमा पलाएको चोरहाँगाले तत्कालीन सङ्गठनलाई कमजोर तुल्याएको थियो र हामी त्यसलाई रायमाझी प्रबृत्ति भनेर बुझ्दछौँ । चोर हाँगा बनेर उनीहरू मौलाए र कालान्तरमा आफै सिद्धिए । अहिले संसदीय खेलमा लागेका आफुलाई क्रान्तिकारी परिवर्तनकारी भन्ने मित्रहरू उही दशा ब्यहोर्ने बाटोमा उभिएका छन् । यसको सबुद पटकपटकको अजातीय गठबन्धन र बिगतको दशवर्षे महाअभियानको लक्ष्यबाट च्युत हुनु नै हो । यसो हुनुमा चोरहाँगे मनोबृती हावी भएको ठोकुवा गर्न सकिन्छ ।

    चोरहाँगाका केही गुण अवस्य हुन्छन् । छोटो समय नै भए पनि आफू आश्रित बृक्षको हरियालीपन गाढा बनाउँछन् । बृक्षको आयतन बढाउँछन् । यसमा फूल फुल्ने दाना लाग्ने नहुनाले रोग कीरा पनि लाग्दैन । सोझा किसानले यो वर्ष बिरूवामा फल लागेन भन्ने गुनासो मात्र गर्छन् र बिरूवा सुरक्षित राख्छन् तर यसो गर्नु चोरहाँगाको बेकुफिपन नबुझ्नु हो ।