जनादेश संवाददाता२०८१ श्रावण १८
१८ साउन, रुपन्देही । भारतको नयाँदिल्लीमा आयोजित ऊर्जा सम्बन्धी कार्यक्रममा बोल्दै उपसभामुख इन्दिरा रानाले जलवायु सम्बन्धी मुद्दाहरुमा जलवायु परिर्वतनको असर न्युनीकरण गर्नका लागि राजनीतिक इच्छाशक्ति आवश्यक भएको बताएकी छन् ।
रानाले संसदहरूले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका जलवायु मुद्दाहरूमा आवश्यक कदम चाल्न सरकारलाई बाध्य पार्न सक्ने भएका कारण संसदको भूमिका प्रभावकारी बनाउनुपर्ने बताएकी हुन् । यसका लागि जनचेतना जगाउनु र जलवायु–सकारात्मक नीतिहरूको वकालत गर्नुपर्ने धारणा राखिन् ।
‘जलवायु परिर्वतनका मुद्दामा सरकारले गरेका प्रतिबद्धताहरू पुरा गराउन संसदले आफ्नो देशका कार्यकारीहरूलाई जवाफदेही बनाउने क्षमता राख्छन्,’ उनले भनिन्, ‘संसदको भूमिकालाई प्रभावकारी बनाउँदै आवश्यक कानुन निर्माण र कार्यान्वयनका लागि भूमिका खेल्न सक्छन् ।’