News Portal

  • जीबीलाई अहिलेसम्म नेपाल ल्याउन सकिएन, गृहमन्त्री लामिछाने भन्छन् : लोकेसन पत्ता लागिसक्यो

    जनादेश संवाददाता२०८१ असार ९
    २६ पटक

    ८ असार, रूपन्देही । मलेसियामा जीबी राईको लोकेसन पत्ता लागिसकेकाे छ । नेपाल ल्याउने विषयमा पहल सुरु भइसकेकाे र स्वदेश ल्याउन मलेसियाका गृहमन्त्रीसँग संवाद भइरहेको छ ।

    सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी (गीतेन्द्रबाबु) को लोकेसन पत्ता लगाइएको र सुपुर्दगी लगायतका कारण तत्काल ल्याउन नमिलेको तर प्रयास भइरहेको कुरा बिहीबार चितवनको भरतपुर विमानस्थलमा उपप्रधान एंव गृहमन्त्री रवि लामिछानेले भनेका थिए । यस विषयमा ३/४ दिनअघि मात्रै मलेसियाका गृहमन्त्रीसँग कुरा भइरहेको दाबी पनि लामिछानेको थियो ।

    पोखराको सूर्यदर्शनसहित विभिन्न सहकारीमा जीबीको नाम जोडिँदै आएको छ । तर डेढ वर्षदेखि उनी फरार छन् । जीबीविरुद्ध प्रहरीको इन्टरपोलले १३ माघमा डिफ्युजन नोटिस जारी गरेको थियो । डिफ्युजन नोटिसमात्रै जारी हुँदा जीबीलाई नेपाल ल्याउने प्रक्रिया लामो हुने भन्दै नेपाल प्रहरीले रेड नोटिसका लागि पत्राचार गरेपछि २१ फागुनमा इन्टरपोलले जीबीविरुद्ध रेड नोटिससमेत जारी गरेको थियो । त्यसपछि कूटनीतिक नोट पठाउँदासमेत मलेसियामा रहेका जीबीलाई अहिलेसम्म नेपाल ल्याउन सकिएको छैन ।