२८ असार ,रुपन्देही। भिरालो र पहिरोको जोखिम भएको जमिनमा २४ घण्टामा एक सय ५० मिलिमिटरभन्दा बढी पानी परेमा आपत्कालीन अवस्था लागू गर्नुपर्ने भूगर्भविद् डा रञ्जनकुमार दाहालले सुझाव दिएका छन् ।
त्रिभूवन विश्वविद्यालयका भू–विपद् विशेषज्ञ एवं अन्तर्राष्ट्रिय इञ्जिनियरिङ भू–विज्ञानका उपाध्यक्ष डा.दाहालले आज राष्ट्रिय समाचार समितिसँग कुरा गर्दै विपद्को अवस्था हरेर आपत्कालीन अवस्था घोषणा नगरे अझै ठूलो धनजनको क्षति हुनसक्ने बताए ।
उनका अनुसार ठाडो काटिएका भिर अति जोखिम हुने भएकाले थप क्षति रोक्न आपत्कालीन अवस्था लागू गर्नुपर्नेछ । “मुग्लिङ सडकको पहिरोले आज बिहानै दुईवटा बस त्रिशुली नदीमा खस्दा करिब ६५ जना बेपत्ता भएका छन् । अरु केही गर्न नसके पनि एक दिनमा एक ४४ मिलिमिटरभन्दा बढी पानी परेको चेतावनी पाएपछि मुग्लिङ सडकमा आवागमन रोकेमा थप क्षति हुनबाट बच्न सकिन्छ”, भू–विपद् विशेषज्ञ दाहालले भने, “तत्काल सबै तहका सरकार खोजी तथा उद्धारमा संग्लन भई सुरक्षाका लागि सम्बन्धित सबै निकायलाई परिचालन गराउनुपर्छ ।”