१९असार, रूपन्देही । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । असार २१ सम्म धितोपत्र बोर्ड नियुक्ति प्रक्रिया यथास्थितिमा राख्न र उक्त दिन छलफलमा आउन सर्वोच्चले अल्पकालीन अन्तरिम दिएको हो । धितोपत्र बोर्डको अध्यक्षका प्रत्याशी सन्तोषनारायण श्रेष्ठले सोमबार दायर गरेको रिटमा मंगलबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका अब्दुल अजिज मसुलमानको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले अर्को छलफल नभएसम्मका लागि अन्तरिम आदेश जारी गरेको हो ।सर्वोच्चले कारण देखाऊ आदेशसँगै सरकार र अन्य विपक्षीसँग लिखित जवाफ पनि माग गरेको छ । सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेपछि यस विरुद्धमा सन्तोष नारायण श्रेष्ठ सर्वोच्चमा रिट दायर गरेका थिए ।
रिटमा अर्थ मन्त्रालयको निर्णय कार्यान्वयन नगर्नु नगराउनु भनी अन्तरिम आदेशको माग गरिएको थियो ।अर्थ मन्त्रालयले रद्द गर्ने भनी गरेको निर्णय गैरकानुनी भएको भन्दै श्रेष्ठले रिट दायर गरेका थिए । उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले भनेको हो । यो विवादका बिच सोमबार बसेको मन्त्रीपरिषद्ले नयाँ समिति गठन गर्ने निर्णय गरेको थियो । माघ ५ गते सुरु भएको अध्यक्ष छनोट प्रक्रिया अर्थ मन्त्रालयले गत शुक्रवार रद्द गरेको थियो। प्रक्रिया रद्द गरिएको विषयमा श्रेष्ठले सोमबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।