
नेपाल कम्युनिस्ट पार्टी बाँकेले प्रथम जिल्ला भेला जेष्ठ नागरिक कमरेड बनकाठको अध्यक्षतामा नेपालगंज उप महानगरपालिका धम्बोझी रहेको होटल स्वस्तिकमा सम्पन्न गरेको छ । उक्त भेलाको संचालन पार्टी केन्द्रीय सदस्य एव पश्चिम कमान्ड सदस्य कमरेड मोजले गरेका छन् । भेलाले २१ सदस्यीय जिल्ला समिति निर्माण गरेको छ भने जिल्ला इन्चार्जले नै संयोजकको भूमिका पूरा गर्ने सर्वसम्मत पारित भयो । पार्टी केन्द्रीय सदस्य धर्तीले स्वागत मन्तव्य राखे

वक्ताहरुमा मुस्लिम समुदायबाट कमरेड गोब्रे हाजी, महिलाबाट कमरेड पम्फा शाही रहेका छन् । भेलालाई सम्बोधन गर्दै पार्टी केन्द्रीय सदस्य एवं बाँके बर्दिया इन्चार्ज अटलले बिगत लामो राजनीतिक यात्राको क्रममा सर्वहा वर्गको मुक्तिका लागि बलिदानी पूर्ण योगदान गर्दै आएको र अब पनि पार्टीले ठोस गरेको स्वाधीन समाजवादी गणतन्त्र स्थापना गर्न “राष्ट्रिय मुक्ति क्रान्ति र छापामार संघर्षको बाटोमा दृढतापूर्वक अघि बढौ ।’’ भन्ने मूल नारामा प्रतिबद्ध भएर बाँके र बर्दिया जिल्लामा भएको चरम भ्रष्टाचार ,कालोबजारी ,घुसखोरी तस्करी लगायत शिक्षा र स्वास्थमा दुबोझै मौलाउदै गएको माफियाकरणका विरूद्द निरमम संघर्ष गर्ने बताएका छन् ।

पार्टी सचिवालय सदस्य एवं युवाका केन्द्रीय संयोजक विकल्पले तत्कालीन समयमा नेकपा माओवादीले सञ्चालन गरेको १० बर्षको महान जनयुद्धमा सैन्य फाँटमा रहेर कार्य गरेको कुरा माथि प्रकाश पार्दै मृत्युलाई जितेर आएको यो नाफाको जीवन फेरी पनि वर्गीय तथा राष्ट्रिय मुक्तिमा नै खर्चिन कुरा व्यक्त गरेका छन् । उनले स्वाधीन समाजवादी गणतन्त्र स्थापना गर्न राष्ट्रिय मुक्ति क्रान्ति र छापामार संघर्षको कार्यदिशाले मात्र नेपालमा जनवादी क्रान्तिको बाँकी कार्यभार पुरा गरि स्वाधीन समाजवादी गणतन्त्र स्थापना गर्न सकिन्छ भनेका छन् । विकल्पले सामाजिक व्यवस्था परिवर्तनका निमित्त उत्पादनको लागि संघर्ष गर्न युवाहरूले अग्र मोर्चामा रहेर कार्य गर्दै आएको व्यहोरा प्रष्ट पार्दै युवाहरूलाई राष्ट्रिय मुक्ति क्रान्तिको विचारमा गोलबद्दर लामबद्द हुन विशेष अपिल गरेका हुन् ।

यसैगरी पार्टी प्रवक्ता एवं पश्चिम कमाण्ड इन्चार्ज कमरेड अर्जुनले यो विद्रोह कुनै सामान्य परिस्थितिमा गरिएको विद्रोह होइन यो विद्रोह क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र कमरेड किरणसँगको मात्र नभई नेपालको समग्र कम्युनिस्ट आन्दोलनमा देखिएका विधमान दक्षिणपन्थी नव संशोधनवादी, नव प्रतिक्रियावादी र बुर्जुवा संसदवादी प्रवृत्ती विरूद्द मालेमावाद र राष्ट्रिय मुक्ति क्रान्तिको विचार द्धारा गरेको ऐतिहासिक परिवर्तनको जगमा उभिएर गरेको विद्रोह हो । वास्तवमा यसले नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ चरणको प्रतिनिधित्व गर्ने कुरा बताउनु भयो ।यो विद्रोह नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा क्रमभङ्ग होः विचार , संगठन र आन्दोलनमा क्रान्तिकारी छलाङ हाले । यो विद्रोह र पार्टी निर्माणका ३वटा ऐतिहासिक कार्यभार रहेका छन । यसको पहिलो कार्यभार विचार संश्लेषणको प्रश्नसँग सम्बन्धित छ, यो विश्व दृष्टिकोणको सवाल हो।यसकारण यसले राष्ट्रिय मुक्ति क्रान्तिको विचारको संश्लेषण गरेको छ। यो नेपालको कम्युनिस्ट आन्दोलन र जनताको साझा अनुभव र ज्ञानको सघनिकरण हो । यसले नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ चरणको प्रतिनिधित्व गर्दछ ।दोस्रो कम्युनिस्ट आन्दोलनको पुर्गठनको सवाल हो । तेस्रो स्वाधीनता, समाजवाद र सर्वहारा अधिनायकवाद स्थापना गर्ने सवाल हो भनेका छन् ।