News Portal

  • नेपाली सेनाका रथी सिग्देलको नागरिकता दुईथरी

    जनादेश संवाददाता२०८१ असार ११
    २० पटक

    १० असार,रुपन्देही । नेपाली सेनाका रथी अशोक राज सिग्देलको नागरिकतामा दुईथरी जन्ममिति भेटिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट लिएको नागरिकता र जाजरकोटबाट लिएको प्रतिलिपिमा जन्ममिति फरक छ ।

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ घर भएका सिग्देलविरुद्ध जेठ ९ मा राष्ट्रपति कार्यालयसहित ११ निकायमा उजुरी परेको छ । ललितपुर बस्ने नागेश्वर चौधरीले उनीविरुद्ध उजुरी गरेका हुन् । सिग्देलको वास्तविक जन्म २०२१ चैत १९ भए पनि उनले शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकतामा २०२३ माघ १९ बनाएको उजुरीमा उल्लेख छ ।

    जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट सिग्देलले २०४० असोज ९ मा नागरिकता लिएका हुन् । त्यसबेला उनी १७ वर्षका थिए । रुपन्देहीको नागरिकता अनुसार सिग्देल २०२३ असोज ९ मा जन्मिएका हुन् ।

    सिग्देलले २०५८ मा जाजरकोटबाट नागरिकताको प्रतिलिपि लिए । जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट लिएको प्रतिलिपि अनुसार उनी २०२३ साउन २९ मा जन्मिएको देखिन्छ । उनले प्रतिलिपि लिँदा पुरानो विवरणमा थपघट गरेका हुन् । सक्कल नागरिकतामा भएको विवरणभन्दा फरक हुने गरी प्रतिलिपिमा विवरण सच्याउन पाइँदैन । तर, उनले प्रतिलिपि लिँदा जन्मेको महिना र गते परिवर्तन गरेको देखिन्छ ।