२६ साउन, रुपन्देही । त्रिभुवन विश्वविद्यालय (त्रिवि)परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले धमाधम नतिजा प्रकाशन गर्न थालेको छ । कोरोना महामारीपछि रोकिएको परीक्षाको नतिजा लामो समयदेखि प्रकाशन हुन सकेको थिएन । जसले गर्दा पनिकालाई चाप बढेको थियो ।
अहिले धमाधम नतिजा सार्वजनिक गर्न थालेको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत जेठदेखि हालसम्म २५ वटा विषयको परीक्षाको नतिजा सार्वजनिक गरिएको बताए । साउन २ गतेदेखि ९ गतेसम्म भएको स्नातकोत्तर तह प्रथम वर्षको ६ वटा विषयको नतिजा सार्वजनिक भइसकेको छ । ६ वटा विषयको नतिजा साउन १३ गतेभित्र नै सार्वजिनक भएको हो । त्यस्तै पोलिटिकल साइन्सको नतिजासमेत ११ दिनमै सार्वजनिक भएको थियो । एमबीएस प्रथम वर्षको नतिजा परीक्षा सकिएको १० दिनमै सार्वजनिक भएको छ ।
पनिकाले गत असारसम्म पहिला कोभिडपछि रोकिएका परीक्षाको नतिजा सार्वजनिक गर्ने योजना बनाएको थियो । नतिजाका लागि कर्मचारीहरूलाई केही सुविधा थप दिइएको थियो । जसले गर्दा २ वर्षसम्म रोकिएका परीक्षा तथा नतिजा एकै वर्षमा सार्वजनिक गर्न सकिएको परीक्षा नियन्त्रक जोशीले बताए ।
त्रिविले २०८० को साउनदेखि पनिकाका कर्मचारीको थप सुविधा कटौती गर्दै कार्यालय समय १० देखि ५ बजेसम्म मात्रै राखिएको थियो । जसले गर्दा कामको चाप बढेको थियो भने नतिजा प्रकाशनको काम तीव्र गतिमा अगाडि बढ्न सकेको थिएन ।