News Portal

  • मार्क्सवादी दर्शनको विकासमा लेनिनको योगदान अर्थात् लेनिनवादी दर्शन

    जनादेश संवाददाता२०८१ बैशाख १८
    ८ पटक


    मोहन वैद्य ‘किरण’

    मोहन वैद्य ‘किरण’

    २०८१ बैशाख १२ ०७:४६

    प्रारम्भिकी
    माक्र्सवादी दर्शनको फाँटमा लेनिनद्वारा गरिएको विकास, समृद्धिकरण र योगदानलाई लेनिनवादी दर्शनका रूपमा ग्रहण गरिन्छ । लेनिनवादी दर्शन माक्र्सवादी दर्शनको विकसित रूप हो । माक्र्सवादी दर्शनलाई माक्र्सवादको एक सङ्घटक अङ्गका रूपमा लिइन्छ ।

    अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा विश्व सर्वहारावर्गले आफ्नो मुक्तिको विचारधाराका रूपमा जुन सिद्धान्तको विकास तथा निर्माण ग¥यो त्यसलाई माक्र्सवाद भनिन्छ । माक्र्सवादको निर्माणमा एङ्गेल्सको पनि महत्वपूर्ण योगदान रहेको छ । माक्र्सवादका तीन सङ्घटक अङ्गहरू छन्, ती हुन् ः दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद । माक्र्स पश्चात् लेनिनले माक्र्सवादलाई लेनिनवादका रूपमा विकसित तुल्याउनु भयो । लेनिनवादलाई स्थापित तुल्याउनेमा स्टालिनको महत्वपूर्ण भूमिका रहेको छ । स्टालिनका अनुसार लेनिनवाद भनेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवाद हो । लेनिनवादका पनि दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद गरी तीन ओटा सङ्घटक अङ्ग छन् । लेनिन पश्चात् माक्र्सवाद–लेनिनवादको विकासमा माओले उल्लेखनीय योगदान गर्नु भयो र आज सर्वहारा वर्गको मुक्तिसिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवादका रूपमा विकसित भएको छ ।

    आज एकातिर साम्राज्यवादले भूमण्डलीकरणको रूप लिएको र अर्कोतिर विज्ञान तथा प्रविधिको अपूर्व विकास भएको अवस्थामा माक्र्सवादका साथै लेनिनवाद र लेनिनवादी दर्शनको औचित्य समाप्त भयो भन्दै उत्तर आधुनिकतावादी तथा उत्तर माक्र्सवादीहरूद्वारा ठुलो विभ्रम फैलाइएको छ । यस सन्दर्भमा लेनिनवादी दर्शनको महत्वमाथि प्रकाश पार्नु विशेष आवश्यक रहेको छ ।

    प्रस्तुत कार्यपत्रको मूल विषय लेनिनवादी दर्शन हो । यो दर्शन लेनिनवादी राजनीतिक अर्थशास्त्र तथा वैज्ञानिक समाजवादसित अभिन्न रूपमा जोडिएको छ । यहाँ लेनिनवादी दर्शनका मूल विशेषताबारे सङ्क्षिप्तमा प्रकाश पार्ने प्रयास गरिएको छ ।

    लेनिनवादी दर्शनको विकास प्रक्रिया
    सर्वप्रथम त लेनिनले माक्र्सवादी दर्शन अर्थात् द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई राम्रोसित आत्मसात् गर्नु भयो । त्यसै आत्मसातीकरणका आधारमा उहाँले पार्टी जीवन, पार्टीका दस्तावेज तथा आफ्ना विभिन्न आलेख तथा कृतिहरूको निर्माण, विकास र रचना गर्नुभयो । यस सन्दर्भमा उहाँले विभिन्न प्रकारका गलत चिन्तन तथा विचारहरू अर्थात् विभिन्न रूप र रङ्गका आदर्शवाद, अधिभूतवाद तथा यान्त्रिक भौतिकवादको खण्डन र द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको पक्षपोषण गर्दै माक्र्सवादलाई विकसित तुल्याउँदै आउनु भयो । त्यसै पृष्ठभूमिमा उहाँका दार्शनिक विचार तथा तिनका आधारमा निर्मित कृतिहरूको निर्माण भएको पाइन्छ । यस सन्दर्भमा राजनीतिक अर्थशास्त्रको क्षेत्रमा रुसमा पुँजीवादको विकास, साम्राज्यवाद पुँजीवादको चरम अवस्था, सर्वहारा अधिनायकत्वको युगमा अर्थनीति र राजनीति, वैज्ञानिक समाजवादको क्षेत्रमा के गरौं? दुई कार्यनीति, समाजवाद र युद्ध, राज्यसत्ता र क्रान्ति लगायतका कृतिहरु विशेष महत्वपूर्ण रहेका छन् ।

    माक्र्सवादको विकास प्रक्रियामा संशोधनवाद जन्मियो । माक्र्सवादलाई स्थापित तुल्याउन र त्यसको रक्षा, प्रयोग तथा विकास गर्नका लागि संशोधनवादको विरोध अनिवार्य बन्न गयो । त्यसै सन्दर्भमा लेनिनले अप्रिल १९०८ मा “माक्र्सवाद र संशोधनवाद” शीर्षक आलेख तयार पार्नु भयो । त्यस आलेखमा उहाँले दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा विद्यमान संशोधनवादको उल्लेख गर्दै त्यसको खण्डन र माक्र्सवादको पक्षपोषण गर्नुभयो । लेनिनका अनुसार बर्नस्टाइनद्वारा माक्र्सवादको संशोधन, पुनर्विचारका रूपमा संशोधनवादलाई पेश गरियो । प्राक्–माक्र्सवादी समाजवाद ध्वस्त भएको स्थितिमा त्यसले स्वतन्त्र रूपमा नभई संशोधनवादका रूपमा माक्र्सवादको आधारमा संघर्ष चलाएको छ । दर्शनको फाँटमा संशोधनवादले भौतिकवादका विरुद्ध नवकान्टवाद तथा धार्मिक पुरोहितवादको पक्षमा उभिई आदर्शवादको पक्षपोषण गर्दछ । अग्रगामी पार्टीमा सन्दर्भमा धर्मलाई निजी मामिला बनाउने प्रयास गर्दछ । त्यसले द्वन्द्ववादको ठाँउमा सिधा सादा, शान्तिमय र विकास क्रमको सिद्धान्तलाई स्थापित गर्ने चेष्टा गर्दछ ।

    लेनिनद्वारा एउटा सिङ्गै पुस्तकका रूपमा लेखिएको एक अत्यन्तै उत्कृष्ट कृतिको नाम हो–“भौतिकवाद र अनुभवसिद्ध आलोचना” । यो १९०८ मा लिखित र १९०९मा प्रकाशित कृति हो । यो कृति किन लेखियो ? यसका दुई अत्यन्तै महत्वपूर्ण सन्दर्भहरू छन् ।

    पहिलो, १९०५मा क्रान्तिको पराजय पश्चात् विचारधारात्मक क्षेत्रमा प्रतिक्रियावाद र अवसरवाद निकै प्रभावी बन्न गए । त्यो बेला आफ्नै पार्टी र कम्युनिस्ट आन्दोलनका बोग्दानोभ, बाजारोभ, युश्केविच, बेर्मन लगायतका व्यक्तिहरू दार्शनिक फाँटमा मारववाद, रहस्यवाद, श्रद्धावाद, अज्ञेयवाद, लगायतका प्रवृत्ति तथा विचारहरूलाई अवलम्वन गरेर माक्र्सवादी दर्शनका विरुद्ध, परन्तु माक्र्सवादकै विकासका नाममा खडा भए । तिनको विरोध र भण्डाफोर गर्न अनिवार्य भयो ।

    दोस्रो, त्यसबेला प्रकृति विज्ञानको क्षेत्रमा नयाँ नयाँ ढङ्गका अनुसन्धान हुँदै गए । त्यस सन्दर्भमा इलेक्ट्रोनको खोज एक विशिष्ट परिघटनाका रूपमा देखा प¥यो । इलेक्ट्रोनको खोजलाई भौतिक विज्ञानका क्षेत्रमा क्रियाशील कतिपय आदर्शवादीहरूले “भूतद्रव्यको लोप”का रूपमा प्रस्तुत गरे र भौतिकवाद असफल भएको निष्कर्ष निकाले । त्यस स्थितिमा प्रकृति विज्ञानका क्षेत्रमा भएको विकासलाई द्वन्द्वात्मक भौतिकवाद सम्मत ढङ्गले प्रस्तुत गर्न र भौतिक विज्ञानमा विद्यमान आदर्शवाद एवम् अधिभूतवादको विरोध तथा खण्डन गर्न जरुरी भयो ।

    लेनिनले आफ्नो प्रसिद्ध दार्शनिक कृति “भौतिकवाद र अनुभवसिद्ध आलोचना”मा दर्शनको आधारभूत प्रश्नबारे एङ्गेल्सलाई उद्धृत गर्दै सत्ता र चिन्तनका बीचको सम्बन्ध विषयक प्रश्नको विवेचना गर्नु भएको छ । दर्शनको आधारभूत प्रश्नका दुई पहलु रहेका छन् । त्यसको पहिलो पहलु अन्तर्गत सत्ता र चिन्तनका बीच प्राथमिकता क्रम निर्धारण गर्ने विषय पर्दछ । यस सन्दर्भमा लेनिन भन्नुहुन्छ – “भौतिकवादले प्रकृतिलाई प्राथमिक र विचारलाई द्वितीयक स्थानमा राख्दछ । यसले सत्तालाई प्राथमिक र चिन्तनलाई द्वितीयक मान्दछ । आदर्शवाद यसको ठीक विपरीत रहेको छ ।” (Materialism and empirio criticism, p. 84) । साथै, यहाँ लेनिनले आदर्शवाद र भौतिकवादका बीचमा विभिन्न दार्शनिक धारा रहेका छन् भन्ने कुरा पनि उल्लेख गर्नु भएको छ । ती धाराका बीचमा बीचका धारा प्रत्यक्षवाद (Positivism), माख तथा माखवाद, संशोधनवाद, अर्थक्रियावाद (Pragmatism) लगायतका अनुभववादमा आधारित व्यक्तिनिष्ठ आदर्शवादी धारा हुन् । दर्शनको आधारभूत प्रश्नको दोस्रो पहलु अन्तर्गत सत्ता र चिन्तनका बीचको द्वन्द्वात्मक सम्बन्धलाई निर्धारण गर्ने विषय पर्दछ । प्रश्न यस्तो छ ः हाम्रो चिन्तन र हाम्रा वरिपरिको विश्वका बीच के सम्बन्ध छ ? के हाम्रो चिन्तन वास्तविक विश्वको वास्ताविकताको सही प्रतिबिम्बन गर्न समर्थ छ ? (Materialism and empirio criticism, p. 84) भौतिकवादीहरू र कतिपय आदर्शवादीहरूले पनि उक्त प्रश्नहरुको सकारात्मक उत्तर दिने गर्दछन् । परन्तु अज्ञेयवादीहरु भने यी प्रश्नको नकारात्मक जवाफ दिन्छन् र ती आदर्शवादीको भासमा फस्न पुग्छन् । वस्तुतः माख र माखपन्थीहरुले त्यही काम गरेका छन् । लेनिनले एङ्गेल्सलाई अगाडि सार्दै उक्त विषयमा विशद विवेचना गर्नु भएको छ ।

    सत्ता र चिन्तनको द्वन्द्वात्मक सम्बन्धको प्रश्न प्रतिबिम्बनको सिद्धान्तसित जोडिएको छ । यो प्रश्न मानिसको मनोजगत्मा वस्तुगत यथार्थको प्रतिबिम्बन हुने विषयमा आधारित छ । साथै, यो प्रश्न दुनियाँलाई बुझ्ने र मुख्यतः बदल्ने विषयमा आधारित छ । यस सन्दर्भमा अध्ययन गरिने महत्वपूर्ण विषय हुन् — प्रतिबिम्बनको सिद्धान्त, सत्यको वस्तुनिष्ठता, सत्यको सापेक्षता र निरपेक्षता, अनि सत्यको कसौटी । यी ज्ञानमीमांसाका विशद अध्ययनका विषय हुन् । लेनिनले यी सबै विषयमाथि राम्रो प्रकाश पार्नु भएको छ ।

    ३ मार्च १९१३ मा लिखित “माक्र्सवादका तीन स्रोत तथा तीन सङ्घटक अङ्ग” नामक आलेखमा लेनिनले राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका साथै माक्र्सवादी दर्शन अर्थात् द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका बारेमा संक्षिप्त तथा सघन रूपमा प्रकाश पार्नु भएको छ । त्यसमा उहाँले के बताउनु भएको छ भने प्राकृतिक विज्ञानका नवीनतम खोजहरू ः रेडियम, इलेक्ट्रोन, मूल तत्वहरूको रूपान्तरणद्वारा माक्र्सको द्वन्द्वात्मक भौतिकवादको अद्भूत रूपमा पुष्टि भएको छ । ऐतिहासिक भौतिकवादबारे लेनिन भन्नुहुन्छ — “माक्र्सले भौतिकवादी दर्शनलाई पुरै गहिराइ प्रदान गर्नु भयो एवम् पूर्णतः विकसित तुल्याउनु भयो र त्यसको प्रकृति संज्ञानलाई मानव समाजको संज्ञानमा लागु गर्नु भयो ।” (भ्ला. इ. लेनिन संकलित रचनाएँ, दश खण्डो मे खण्ड–४, पृ.१९५ प्रगति प्रकाशन मास्को १९८२) ।

    त्यसैगरी जुलाई–नवम्बर १९१४ मा लिखित “कार्ल माक्र्स”मा लेनिनले माक्र्सवादका तीन ओटै अङ्ग र सर्वहाराको वर्गसंघर्षको कार्यनीतिबारे विवेचना गर्ने क्रममा द्वन्द्वात्मक तथा ऐतिहासिकबारे निकै गहन रूपमा प्रकाश पार्नु भएको छ । उहाँले कम्युनिस्ट पार्टीको कार्यनीति अर्थात् कार्यदिशाको निर्धारण गर्दा द्वन्द्वात्मक भौतिकवादलाई आधार मान्नु पर्ने तर्फ विशेष जोड दिनु भएको छ ।

    दार्शनिक फाँटमा लेनिन रचित एउटा अत्यन्तै महत्वपूर्ण कृतिको नाम हो– “दार्शनिक नोटबुक” । यो कुनै क्रमबद्ध तथा व्यवस्थित रूपमा तयार पारिएको कृति नभई दर्शनबारे विभिन्न समयमा लेखिएका विभिन्न महत्वपूर्ण टिपोटहरूको संकलन हो । तर, माक्र्सवादी दर्शनको विकासमा यस कृतिको विशिष्ट महत्व छ । यस कृतिमा प्रस्तुत दार्शनिक विषयको सार सङ्क्षेपलाई यसरी उल्लेख गर्न सकिन्छ ः

    पहिलो, दर्शनको इतिहास सम्बन्धी विषय । यस कृतिमा दर्शनको इतिहाससित सम्बन्धित विषयमा आधारित दर्शनको इतिहास विषयक हेगेलका भाषणहरुको रूपरेखा, हेरेक्लाइटसको दर्शन सम्बन्धी लासालीय पुस्तकको रूपरेखा, लिब्निज सम्बन्धी दर्शनबारेको विश्लेषण तथा आलोचना सम्बन्धी फायरवाखको पुस्तकको रूपरेखा लगायतका रचना सङ्कलित गरिएका छन् । दर्शनको इतिहासको उल्लेख गर्दा यहाँ प्राचीन युनानी दर्शन देखि आधुनिक जर्मन दर्शनसम्म चल्दै आएको भौतिकवाद र आदर्शवाद अनि द्वन्द्ववाद र अधिभूतवादका बीचको सङघर्षको प्रक्रिया र त्यसकै बीचबाट विकसित द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादबारे प्रकाश पारिएको छ । लेनिनद्वारा माक्र्स–एङ्गेल्सको प्रसिद्ध कृति “पवित्र परिवार”का विषयमा गरिएको टिप्पणी “दार्शनिक नोट बुक”को शुरुमा नै अर्थात् १८९५मा नै लेखिएको भएपनि त्यो दर्शनको इतिहासको संश्लेषण बन्न गएको मान्नु पर्दछ ।

    दोस्रो, जर्मन शास्त्रीय दर्शन । जर्मनीमा अठारौं शताब्दीको अन्त्य र उन्नाइसौं शताब्दीको पूर्वार्धमा विकसित दर्शनलाई जर्मन शास्त्रीय दर्शन भनिन्छ । शास्त्रीय दर्शन अन्तर्गत् मूलतः कान्ट, फिक्टे, शेलिङ्ग, हेगेल र फायरबाख आउँछन् । शास्त्रीय जर्मन दर्शनको संस्थापक कान्ट मानिन्छन् र त्यस दर्शनलाई उत्कर्षमा पु¥याउने काम हेगेल तथा फायरबाखद्वारा भएको छ । लेनिनले एकातिर आभास तथा सारतत्वका बीच अभेद्य पर्खाल खडा गर्दै द्वैतवाद र अज्ञेयवादको पक्षपोषण गर्ने कान्टका विरुद्ध हेगेलले गरेको संघर्षको उच्च मूल्याङ्कन गर्नुभएको छ भने अर्कोतिर कान्टको द्वैतवाद तथा अज्ञेयवादको विरोध गर्नु भएको छ । लेनिनले हेगेलको द्वन्द्ववाद र फायरबाखको भौतिकवादबारे माक्र्स–एङ्गेल्सको संश्लेषणमाथि आवश्यक दृष्टि दिदै ती दुवैको वस्तुसम्मत मूल्याङ्कन् गर्नुभएको छ । यद्यपि हेगेल आदर्शवादी हुन्, तर लेनिन हेगेलको तर्कशास्त्रमा “आदर्शवाद कम र भौतिकवाद बढी” देख्नु हुन्छ । (Vol. 38, p. 233) । त्यस्तै लेनिनका दृष्टिमा फायरबाख भौतिकवादी हुन्, परन्तु उनको भौतिकवादमा “नृवैज्ञानिक सिद्धान्त र प्रकृतिवाद”को सीमा तथा कमजोरी रहेका छन् (Ibid 82) ।

    तेस्रो, प्रतिबिम्बनको सिद्धान्त । ज्ञानसिद्धान्तको क्षेत्रमा लेनिनले माक्र्सवादी दर्शनको प्रतिबिम्बन सिद्धान्तलाई समृद्ध तथा विकसित तुल्याउनु भएको छ । लेनिन भन्नुहुन्छ, “ज्ञान भनेको मानिसद्वारा प्रकृतिको प्रतिबिम्बन हो । यो सरल, बनिबनाउ र पूर्ण प्रतिबिम्बन होइन, अपितु यो अमूर्तीकरणका श्रृङ्खलाहरू, अवधारणाहरू, निर्णय आदिको विकास र संरचनाको प्रक्रिया हो । ……… यहाँ वास्तवमा तीन सदस्य छन्– (१) प्रकृति, (२) मानव संज्ञान — मानव मस्तिष्क (त्यसै प्रकृतिको सर्वाेच्च उत्पादका रूपमा) र (३) मानव संज्ञानमा प्रकृतिको प्रतिबिम्बनको रूप । यस रूपले समुचित ढङ्गबाट अवधारणाहरू, नियमहरू, प्रवर्गहरू, आदिलाई समेट्छ । मान्छेले सम्पूर्ण रूपमा, आफ्नो पूर्णतामा, आफ्नो तात्कालिक समग्रतामा प्रकृतिलाई बुझ्न, प्रतिबिम्बन गर्न र दर्पण खिच्न सक्तैन, त्यसले केवल अनन्तरूपमा यससँग धनिष्ठ बन्दै अमूर्तताहरू, अवधारणाहरू, निमयहरू, विश्वकोे वैज्ञानिक तस्बिर आदि आदि सृष्टि गर्दै जान सक्तछ । (Ibid 38, p. 182) ।

    चौथो, द्वन्द्ववादको विवेचना । प्रस्तुत “दार्शनिक नोटबुक”मा हेगेलको “तर्कशास्त्रको विज्ञानको रूपरेखा”, “द्वन्द्ववादको प्रश्नबारे” लगायतका कृति तथा आलेखहरूमा सामान्यतः हेगेलीय द्वन्द्ववाद र विशेषतः भौतिकवादी द्वन्द्ववादलाई विशेष स्थान दिइएको छ ।

    लेनिनले हेगेलको कृति — “तर्क विज्ञानको विषय सारांशमा” द्वन्द्ववादका तत्वका रूपमा सोह्रसूत्रीय बुदाँहरूलाई प्रस्तुत गर्नुभएको छ । त्यसै क्रममा द्वन्द्ववादबारे लेनिन भन्नुहुन्छ– “सङ्क्षेपमा, द्वन्द्ववादलाई विपरीतहरूको एकताको सिद्धान्तका रूपमा परिभाषित गर्न सकिन्छ । यसमा द्वन्द्ववादको सार मूर्त छ, परन्तु, यसले विवेचना र विकासको अपेक्षा गर्दछ । (Vol-38, p.223) ।

    पाँचौं, ज्ञानसिद्धान्त, द्वन्द्ववाद, तर्कशास्त्र । लेनिनले ज्ञान सिद्धान्त, द्वन्द्ववाद र तर्कशास्त्रलाई एकीकृत सिद्धान्तका रूपमा प्रस्तुत गर्नु भएको छ । लेनिन भन्नुहुन्छ– “पुँजीमा माक्र्सले एक सिङ्गो विज्ञान तर्कशास्त्र, द्वन्द्ववाद र भौतिकवादको ज्ञान सिद्धान्त प्रयोग गर्नु भयो । (यहाँ तीन शब्दको आवश्यकता छैन यो एउटै र उही हो) जुन हेगेलमा हरेक मूल्यवान थियो त्यो लिइयो र त्यसलाई अगाडि विकसित गरियो ।” (Vol-38, p.223)

    छैटौं, लेनिनले विभिन्न कृतिहरूमा द्वन्द्ववादका विरुद्ध वस्तु, घटना र प्रक्रियालाई अमूर्त तथा आंशिक रुपमा दर्शाउने, अन्तर्विरोधका विपरीत पहलुहरुलाई समानान्तर ढंगले प्रस्तुत गर्ने, कुनै एक ठाउँमा लागु हुने नियमलाई अर्को ठाउँमा लागु गर्ने सारसंग्रहवादको विरोध गर्नु भएको छ । अक्टोबर क्रान्ति पश्चात् रूसमा राजनीति र अर्थनीति, ट्रेड युनियनको अध्ययनका प्रसङ्गमा सारसंग्रहवादका विरुद्ध द्वन्दवादका विशेषतामाथि प्रकाश पार्दै लेनिनले (१) पदार्थको जानकारीका लागि त्यसका सबै पहलु, सबै सम्बन्ध तथा माध्यमहरूको अध्ययन गर्नुु पर्ने, (२) पदार्थलाई विकासक्रममा र आत्मगतिशीलतामा बुझ्नु पर्ने, (३) पदार्थलाई त्यसको पूर्णता र व्यवहारको कसौटीको आधारमा हेर्नु पर्ने र (४) सत्यलाई अमूर्त होइन सदा मूर्त रुपमा बुझ्नु पर्ने कुरामा जोड दिनु भएको छ । (लेनिन, संकलित रचनाएँ, दश खण्डों मे खण्ड १०, पृष्ठ १२७) । प्रगति प्रकाशन मास्को १९८६ ।

    सातौं, अन्य पक्ष । लेनिनद्वारा तयार पारिएका प्लेखानोभ, देवोरिन, शुल्यातिकोभ आदिसित सम्बन्धित टिप्पणीहरू मध्ये कतिपयमा सामान्य प्रतिक्रिया दिने र कतिपयमा माक्र्सवादी दर्शनको तोड मरोड गरिएकोमा त्यसको विरोध गर्ने काम भएको छ ।

    आठौं, माक्र्सवादी दर्शन र प्रकृति विज्ञानसितको सम्बन्ध । लेनिनले माक्र्सवादी दर्शन र प्रकृतिविज्ञानका बीच अभिन्न सम्बन्ध हुने विषयमा विभिन्न कृतिहरूमा प्रकाश पार्दै आउनु भएको छ । १२ मार्च १९२२ मा लेखिएको “जुझारु भौतिकवादको महत्व” शीर्षक आलेखमा एउटा दार्शनिक पत्रिकाको सन्दर्भसित जोड्दै लेनिन भन्नुहुन्छ– “यदि प्रकृतिविज्ञानका क्षेत्रमा हालै सम्पन्न भएको क्रान्तिद्वारा उठाइएका समस्याहरुको जानकारी प्राप्त गरिएन भने र यदि दार्शनिक पत्रिकाको यस काममा प्रकृतिवैज्ञानिकहरुलाई आकर्षित गरिएन भने जुझारु भौतिकवाद न जुझारु रहने छ न भौतिकवाद ।” (माक्र्स, एंगेल्स, लेनिन : द्वन्द्वात्मक भौतिकवाद, पृष्ठ ४३७, प्रगति प्रकाशन मस्को १९७८) । साथै लेनिनले सो कृतिमा “पुँजीवादी विश्वदृष्टिकोणका विरुद्धको संघर्षमा टिक्न र त्यसलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि प्रकृतिवैज्ञानिकहरु द्वन्द्वात्मक भौतिकवादी हुन जरुरी भएको” कुरालाई पनि जोडदार रूपमा प्रस्तुत गर्नुभएको छ ।

    माक्र्सवादी दर्शनमा थप समृद्धिकरण र विकास
    लेनिनले माक्र्सवादी जुन समृद्धिकरण थप विकास भयो त्यसलाई मूलतः यसरी प्रस्तुत गर्न सकिन्छ :

    (क) संशोधनवादको विरोध र माक्र्सवादको पक्षपोषण :
    संशोधनवादका लाक्षणिक विशेषतामाथि प्रकाश पार्दै लेनिन भन्नुहुन्छ–“माक्र्सवादको खास्टो ओढाएर अत्यन्तै सूक्ष्म ढङ्गले माक्र्सवादको झुटो रूप पेश गर्न; भौतिकवाद विरोधी सिद्धान्तहरूलाई अत्यन्तै सूक्ष्म ढङ्गले प्रस्तुत गर्नु–यही नै राजनीतिक अर्थशास्त्रमा, कार्यनीतिक प्रश्नहरूमा र सामान्यतः दर्शनका साथै ज्ञानमीमांसा र समाजशास्त्रमा आधुनिक संशोधनवादका लाक्षणिक विशेषता हुन ।” (Materialism and empirio criticism, p.310, Moscow progress publishers seventh printing).

    (ख) पदार्थको विलोपीकरण र ऊर्जावादको प्रश्न :
    प्रकृतिविज्ञानमा नयाँ खोजहरु हुँदै जाँदा इलेक्ट्रोन पत्ता लाग्यो । हिजो पदार्थको अन्तिम अंश परमाणु मानिदै आएको स्थितिमा परमाणुको सूक्ष्म कण इलेक्ट्रोन देखा प¥यो । त्यस स्थितिमा आदर्शवादद्वारा प्रभावित वैज्ञानिकहरु भन्नथाले– पदार्थको लोप भयो, ऊर्जा मात्र बच्यो र परमाणुवादमा आधारित भौतिकवाद पनि ध्वस्त भयो । रुसी माखपन्थीहरु पनि यिनै कुरामा विश्वास गर्दै भौतिकवादको विरोधमा खडा भए । ती सबैको खण्डन र विरोध गर्दै लेनिनले भन्नु भयो–“वस्तुहरूको सार अथवा द्रव्य पनि सापेक्ष हुन्छ, त्यसले केवल वस्तुहरूको बारेमा मानिसको ज्ञानको गहनताको मात्रालाई व्यक्त गर्दछ । जहाँ हिजोसम्म यस ज्ञानको गहनताको सीमा परमाणु भन्दा अगाडि पुगेको थिएन तथा आज त्यो इलेक्ट्रोन तथा इथर भन्दा अगाडि पुगेको छैन, त्यहाँ द्वन्द्वात्मक भौतिकवादले मानिसले प्रगति गरिरहेको विज्ञानद्वारा हासिल गरिएको ज्ञानमा यी तमाम युगान्तकारी खोजहरुको अस्थायी, सापेक्ष, सन्निकट स्वरुपमाथि जोड दिन्छ । इलेक्ट्रोन त्यसरी नै अक्षय छ जसरी परमाणु । प्रकृति अनन्त छ ।” (उक्त २४३) । यसरी लेनिन द्वन्द्वात्मक भौतिकवादलाई विकसित तुल्याउने काममा दृढतापूर्वक उभिनु भयो र उहाँले सबैखाले धार्मिक रहस्यवाद, ईश्वरवाद, श्रद्धवाद आदिको सशक्त विरोध तथा खण्डन गर्नु भयो ।

    (ग) दर्शनको आधारभूत प्रश्न र द्वन्द्ववाद :
    दर्शनको आधाभूत प्रश्न सत्ता र चिन्तन बीचको सम्बन्ध प्रश्न हो । यस प्रश्नको पहिलो पहलु अन्तर्गत सत्ता अर्थात् पदार्थलाई प्राथमिकता दिने भौतिकवाद र चिन्तन अर्थात् चेतना, विचार, संवेदनालाई प्राथमिकता दिने आदर्शवाद भन्दा भिन्न आफूलाई तेस्रो धारामा राख्ने दार्शनिकहरु पनि छन् । त्यस धारामा मुख्यतः प्रत्यक्षवादी तथा माखपन्थीहरु आँउछन् । रुसी माखपन्थी संशोधनवादीहरुले पनि आफूलाई तेस्रो धारामा राख्तछन् । तेस्रो धाराका रूसी दार्शानिकहरुबारे लेनिन भन्नुहुन्छ–“साँचो हो, प्रत्यक्षवादीहरु, माखपन्थीहरु समेत, यथार्थवादी आदि सबै दयनीय खिचडी हुन्, ती दर्शनमा घृणास्पद मध्यवर्ती पक्ष हुन् जसले प्रत्येक प्रश्नमा भौतिकवादी तथा आदर्शवादी प्रवृत्तिहरूलाई दिग्भ्रमित तुल्याउँछन् । दर्शनमा यी दुई आधारभूत प्रवृत्तिहरूबाट बच्ने प्रयास सम्झौतावादी नमक हरामी बाहेक अरु केही होइन ।” (उक्त ३१९) । वस्तुतः लेनिनले पदार्थ÷वस्तुलाई संवेदन सम्मिश्रण, संवेदनहरूको योग बताउने माख, पदार्थ÷वस्तुलाई अनुभवात्मक — भौतिक तथा मानसिक दुवै बताउने माखका चेला बोग्दानोभ, वस्तुु÷पदार्थलाई इन्द्रियानुभविक प्रतीक बताउने माखका अर्का चेला युश्कोवीच आदि सबै अन्ततः व्यक्तिनिष्ठ आदर्शवादका पक्षधर, विचार र पदार्थलाई एउटै बताउने, पदार्थलाई विचारहरूको संकलन र विचार सिवाय विचार अरु केही होइन भन्ने बर्कलेका चेला भएको कुरा स्पष्ट पार्नु भएको छ ।

    दर्शनको आधारभूत प्रश्नको दोस्रो पहलु सत्ता र चिन्तनको द्वन्द्वात्मक एकत्वमा आधारित छ । त्यस अन्तर्गत मानिसको विचार वा चेतनामा भौतिक विश्व प्रतिबिम्बित हुन्छ कि हुँदैन भन्ने प्रश्न आउँछ । यस प्रश्नमा एङ्गेल्सले भौतिकवाद र अज्ञेयवाद गरी दुई लाइन रहेका छन् भन्नुभएको छ । त्यस तर्फ दृष्टि दिँदै लेनिन भन्नुहुन्छ–“एउटा लाइन के हो भने इन्द्रियहरूले हामीलाई वस्तुहरूको सही सही बिम्ब दिन्छन्, हामी स्वयं ती वस्तुहरूलाई जन्दछौं र बाह्य जगतले हाम्रा ज्ञानेन्द्रियहरूमाथि प्रभाव पार्दछ । यो हो भौतिकवाद । यसमा अज्ञेयवादी सहमत छैन । अनि अज्ञेयवादी लाइनको सारतत्व के हो ? त्यो के हो भने अज्ञेयवादी सम्वेदन भन्दा अगाडि बढ्दैन, त्यो परिघटना सम्म पुगेर रूक्तछ र त्यसले संवेदनाहरूको सीमा भन्दा पर कुनै पनि विश्वसनीय चीज देख्ने कुरालाई इन्कार गर्दछ ।” (उक्त पृष्ठ ९२) ।

    माखपन्थी बोग्दानोभले आफ्नो अनुभवात्मक एकत्ववादका आधारमा सत्ता र चिन्तनको समरूपताको मान्यता प्रस्तुत गरेकोमा त्यसका विरुद्ध सत्ता र चिन्तनको द्वन्द्वात्मक एकरूपताको मान्यता प्रस्तुत गर्दै लेनिन भन्नुहुन्छ–“भौतिकवादले मानिसको चेतना, संवेदना अनुभव भन्दा स्वतन्त्ररूपमा यथार्थ सत्ता (पदार्थ)लाई स्वीकार्दछ । ऐतिहासिक भौतिकवादले मानिसको सामाजिक चेतना भन्दा स्वतन्त्र सामाजिक सत्तालाई स्वीकार्दछ । दुवै अर्थमा चेतना भनेको सत्ताको प्रतिबिम्बत, त्यसको सन्निकट सच्चा प्रतिबिम्बन हो ।”(उक्त पृ ३०५) ।

    (घ) वस्तुगत यथार्थको संज्ञान र प्रतिबिम्बन सिद्धान्त :
    ज्ञानमीमांसाको क्षेत्रमा प्रतिबिम्बन सिद्धान्तको विशेष महत्व छ । प्रतिबिम्बन सिद्धान्तबारे एङ्गेल्सद्वारा प्रस्तुत विचारको पक्षपोषण र थप व्याख्या गर्दै लेनिन भन्नुहुन्छ– “यसरी भौतिकवादी सिद्धान्त, हाम्रो मनद्वारा वस्तुहरुको प्रतिबिम्बनको सिद्धान्त यहाँ पूर्ण स्पष्टताका साथ प्रस्तुत गरिएको छ ः वस्तुहरु हामी बाहिर अस्तित्वमा छन् । हाम्रा प्रत्यक्ष ज्ञान र विचार तिनका बिम्ब हुन् । ती बिम्बहरुको अभिपुष्टि, सच्चा र झुटा बिम्बहरुको विभेदीकरण व्यवहारद्वारा हुन्छ ।” (उक्त ९४) ।

    अनि त प्रतिबिम्बन सिद्धान्तबारे माखको विचार के हो त ? लेनिन भन्नुहुन्छ–“हामी बाहिर र हामीभन्दा स्वतन्त्र रूपमा चीज, वस्तु र पिण्डहरु विद्यमान छन् र राम्रा संवेदन बाह्य जगतका बिम्ब हुन् । माखको विलोभ सिद्धान्त (पिण्डहरु संवेदन संमिश्र हुन्) । दयनीय आदर्शवादी प्रलाप बाहेक अरू केही होइन ।” (….९८) प्रतिबिम्बन सिद्धान्तको क्षेत्रमा माखवादीहरू अर्थात् संशोधनवादीहरु माखकै पक्षमा रहेका छन् ।

    वस्तुगत यथार्थको संज्ञान र प्रतिबिम्बन सिद्धान्तबारे लेनिन भन्नुहुन्छ–“संज्ञान अनन्त छ, विचारको वस्तुसंग अन्तहीन सन्निकटता छ । मानिसको विचारमा प्रकृतिको प्रतिबिम्बनलाई निर्जीव रूपमा होइन, अमूर्त रूपमा होइन, गतिहीन रूपमा होइन, अन्तरविरोधहरू विना होइन, अपितु गतिको अनन्ततामा, अन्तर्विरोधहरूको जन्म तथा तिनको समाधान हुँदै जाने प्रक्रियामा बुझ्नु पर्दछ । (Vol. 38, 195)

    (ङ) सत्यको वस्तुनिष्ठता, सापेक्षता तथा निरपेक्षता र कसौटी :

    •  यो विषय वस्तुगत यथार्थको संज्ञान र प्रतिबिम्बनसित सम्बन्धित छ । माक्र्सवादी दर्शनका अनुसार सत्य वस्तुनिष्ठ हुन्छ, सत्यको अन्तर्वस्तु वस्तुगत भौतिक जगत हो र त्यही नै सत्यको स्रोत पनि हो । माक्र्सवादी दर्शनले सत्यको सापेक्षता तथा निरपेक्षताको द्वन्द्ववाद र सत्यको कसौटीका रूपमा व्यवहारलाई स्वीकार गर्दछ । आदर्शवादी, अज्ञेयवादी र माखपन्थी यी कुरा स्वीकार गर्दैनन् ।
    •  
    •  माखपन्थी बोग्दानोभ सत्यको वस्तुनिष्ठतालाई अस्वीकार गर्दछन् । उनका अनुसार सत्य विचारधारात्मक र संगठनकारी रूप हो । यस प्रकारको चिन्तनको विरोधमा लेनिन भन्नुहुन्छ–“बोग्दानोभद्वारा वस्तुपरक सत्यलाई निषेध गरिनु अज्ञेयवाद तथा विषयीनिष्ठावाद हो । …… पृथ्वी मनुष्य भन्दा पहिले नै अस्तित्वमा थियो, यो एक सत्य हो । यसले ज्ञानको भौतिकवादी सिद्धान्तसित पुरै मेल खान्छ । प्रतिबिम्बित वस्तु भन्दा स्वतन्त्र रूपमा प्रतिबिम्बक वस्तुको अस्तित्व (बाह्य जगत्को मनबाट स्वतन्त्रता) भौतिकवादको एक आधारभूत नियम हो ।” (Materialism and empirio criticism, Ibid, p 108. ) ।
    •  
    • लेनिनले सत्यको सापेक्षतालाई अस्वीकार गर्ने व्यक्तिनिष्ठ आदर्शवादी र अज्ञेयवादीहरूको विरोध गर्दै भन्नुहुन्छ–“मानव चिन्तन आफ्नो स्वरुपले नै निरपेक्ष सत्य प्रदान गर्न समर्थ छ जुन सापेक्ष सत्यहरूको कुलयोगबाट बन्दछ ।” (उक्त, पृ. ११९)
    •  
    • माक्र्सवादीहरू व्यवहारलाई सत्यको कसौटी मान्दछन् (परन्तु, माख तथा माखपन्थी लगायतका दार्शनिकहरु यो कुरा मान्दैनन् । लेनिन भन्नुहुन्छ– “यदि हामीले व्यवहारको कसौटीलाई ज्ञानसिद्धान्तको आधारशिलामा सामेल गर्दछौं भने हामी निश्चित रूपमा भौतिकवाद तर्फ पुग्दछौं, माक्र्सवादी यही भन्दछ । परन्तु माखले के भन्दछन् भने व्यवहारलाई भौतिकवादी हुनदिनु होस्, सिद्धान्त त अर्कै चिज हो । (उक्त १२४) ।

    (च) भौतिकवादी द्वन्द्ववादबारे :

    •  भौतिकवादी द्वन्द्ववादको पद्धति र संज्ञानको क्षेत्रमा प्रवर्गको विशेष महत्व छ । लेनिनका अनुसार प्रवर्गहरू प्रकृति तथा मानिसका बीचको विभेदीकरण र संज्ञानीकरणका चरणसित सम्बन्धित छन् । विश्वलाई बुझ्न र त्यसमाथि प्रभुत्व कायम गर्न तिनले मद्दत पु¥याउँछन्. । (Vol. 38, Page 93, Fourth Printing, 1976) । लेनिनले पदार्थ र गति, दिशा र काल, कारणता, आवश्यकता र स्वतन्त्रता, सार्वभौमिकता र वैयक्तिकता जस्ता प्रवर्गहरू माथि विशेष प्रकाश पार्नु भएको छ ।
    •  
    •  लेनिनले विपरीतहरूको एकताको सिद्धान्तमा द्वन्द्ववादको सार व्यक्त हुने कुरा बताउनु भएको थियो । त्यो हामीले उल्लेख गरिसकेका छौं । लेनिनले “द्वन्द्ववादका प्रश्नबारे” शीर्ष आलेखमा भन्नु भएको छ–“एक समग्रको विखण्डन तथा त्यसका अन्तर्विरोधी भागहरूको संज्ञान द्वन्द्ववादको सार हो ।” (उक्त, पृष्ठ ३५७) । उक्त भनाइहरूबाट के स्पष्ट हुन्छ भने लेनिनले विपरीतहरुको एकत्वको सिद्धान्तलाई प्रधानता दिनुहुन्छ र त्यसको समानान्तरतामा मात्रा तथा गुणको परस्पर रूपान्तरण र निषेधको निषेधलाई राख्नुहुन्न ।
    •  
    • लेनिनले विकासलाई विपरीतहरुको सङ्घर्षका रूपमा प्रस्तुत गर्नुभएको छ । लेनिनका दृष्टिमा विकासका मूल संकल्पना छन् : बढ्नु तथा घट्नु, पुनरावृत्तिका रूपमा विकास र विपरीतहरुको एकताको रुपमा विकास । लेनिनले पहिलो संकल्पनालाई निर्जीव र दोस्रो संकल्पनालाई सजीव बताउनु भएको छ । वस्तुतः पहिलो संकल्पना मन्द गति, मात्रात्मक परिवर्तन र दोस्रो संकल्पना निरन्तरतामा क्रमभङ्ग, गुणात्मक परिवर्तनमा आधारित छन् ।
    •  
    • लेनिनले विपरीतहरुको एकत्वलाई सर्तबद्ध, अस्थायी, क्षणिक तथा सापेक्ष र एक अर्कालाई बहिष्कार गर्ने विपरीतहरुका बीचको सङ्घर्षलाई निरपेक्ष रुपमा प्रस्तुत गर्नुभएको छ ।
    •  
    •  लेनिनले द्वन्द्ववादलाई हेगेल तथा माक्र्सवादको ज्ञानसिद्धान्त बताउनु भएको छ । लेनिनका अनुसार ज्ञान एक सिधा रेखा होइन, त्यो त एक वक्ररेखा हो जो अन्तत रुपमा वृत्तहरुको श्रङ्खलाको, सर्पिल कमानीको सन्निकट पुग्दछ । (उक्त ३६१) ।

    भौतिकवादी द्वन्द्ववादको असली अर्थ दुनियाँ बुझ्ने मात्र होइन, मुख्यतः दुनिया बदल्ने हो । तसर्थ लेनिन भन्नुहुन्छ– “विश्वले मानिसलाई सन्तुष्टि प्रदान गर्न सक्तैन र मानिसले आफ्ना गतिविधिद्वारा त्यसलाई बदल्ने निर्णय गर्दछ ।” (उक्त, २१३) ।
    (६) वैज्ञानिक विश्वदृष्टिकोण र क्रान्तिको कार्यदिशाः
    क्रान्तिको कार्यदिशा निर्धारण गर्दा भौतिकवादी द्वन्द्ववादमा आधारित वैज्ञानिक विश्वदृष्टिकोणलाई अवलम्बन गर्नुपर्ने विषयमा विशेष जोडदिँदै लेनिन भन्नुहुन्छ – “माक्र्सले आफ्नो भौतिकवादी द्वन्द्ववादी विश्वदृष्टिकोणका सबै मान्यताहरुको नितान्त अनुकुल सर्वहाराको कार्यनीतिको आधारभूत लक्ष्य निर्धारित गर्नु भएको थियो । कुनै समयमा विना कुनै अपवाद सबै वर्गका अन्योन्य सम्बन्धहरुको कुल योगको केवल वस्तुपरक गणना र फलतः त्यस समाजको विकासको वस्तुपरक चरणको गणना एवम् त्यो अनि अरु समाजहरुको अन्योन्य सम्बन्धहरुको गणनाले नै सही कार्यनीतिको आधारको काम गर्न सक्तछ । साथै, सबै वर्ग र सबै देश गतिहीन रूपमा होइन, अपितु गतिशील रूपमा अर्थात् जडताको अवस्थामा होइन अपितु गत्यात्मकताको अवस्थामा (जसका नियम हरेक वर्गको अस्तित्वका आर्थिक स्थितिद्वारा निर्धारित हुन्छन् । द्रष्टव्य हुन्छन् । फेरि गत्यात्मकता केवल अतीतको दृष्टिकोणद्वारा होइन, अपितु भविष्यको दृष्टिकोणद्वारा तथा सबै केवल मन्द परिवर्तन देख्ने विकासवादीहरुको भद्दा अवधारणा अनुसार होइन, अपितु द्वन्द्वात्मक रुपले हेर्ने गरिन्छ । माक्र्सले एङ्गेल्सलाई लेख्नु भएको थियोः “महान् ऐतिहासिक घटना प्रवाहमा २० वर्ष एकदिन बराबर हुन्छन् ।” (ब्ला.इ.लेनिन संकलित रचनाएँ, दश खण्डो में खण्ड ५,पृ.५५, प्रगति प्रकाशन मास्को १९८२) । यहाँ कार्यनीति पदावलीले रणनीति र क्रान्तिको कार्यदिशा समान अर्थ सम्वहन गर्दछ । वस्तुतः लेनिनले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोणका आधारमा रुसी समाजको अध्ययन गरी जनवादी तथा समाजवादी क्रान्तिलाई सफल तुल्याउनु भयो ।

    उपसंहार

    •  लेनिनवादको स्थापना सामन्तवाद, साम्राज्यवाद तथा संशोधनवादको विरोध र माक्र्सवादको रक्षा, प्रयोग तथा विकासको प्रक्रियामा सञ्चालित भीषण विचारधारात्मक संघर्ष, वर्गसंघर्ष तथा दुई लाइन संघर्षका बीचबाट भएको हो । लेनिनवादी दर्शन लेनिनवादको एक अभिन्न अङ्ग हो । पुरातनको विनाश र नवीनको विकासको गति र दिशाबारे वैज्ञानिक विश्वदृष्टिकोण र क्रान्तिकारी भविष्यदृष्टि अवलम्बन गर्नु लेनिनवादको एउटा महत्वपूर्ण विशेषता हो ।
    •  
    •  माक्र्स–एङ्गेल्स पश्चात् प्रकृतिविज्ञान र सामाजिक–आर्थिक क्षेत्रमा भएको विकासलाई ठीकसित आत्मसात् गर्ने र त्यस क्षेत्रमा विद्यमान तमाम गलत प्रकारका विचार, चिन्तन तथा प्रवृत्तिका विरुद्ध लड्ने प्रक्रियामा लेनिनवादी दर्शनको विकास भएको हो ।
    •  
    •  लेनिनवादी दर्शनले दार्शनिक फाँटमा वर्गसंघर्ष र वर्गीय पक्षधरताको प्रश्नमाथि विशेष जोड दिएको छ ।
    •  
    •  लेनिनले पद्धतिमीमांसाका क्षेत्रमा तमाम प्रकारका यान्त्रिकता, भँडुवा विकासवाद तथा अधिभूतवादका विरुद्ध द्वन्द्ववादलाई, तत्वमीमांसाका क्षेत्रमा तमाम प्रकारका आदर्शवाद, धार्मिक मतवाद, द्वैतवाद तथा मध्यमार्गी प्रवृत्तिका विरुद्ध भौतिकवादलाई र ज्ञानमीमांसाका क्षेत्रमा तमाम प्रकारका यान्त्रिकता, द्वैतवाद, अज्ञेयवाद तथा अधिभूतवादका विरुद्ध प्रतिबिम्बनको सिद्धान्तलाई स्थापित तुल्याउँदै माक्र्सवादी दर्शनलाई गुणात्मक ढङ्गले नयाँ उचाइ प्रदान गर्नु भएको छ ।
    •  
    •  लेनिनवाद र लेनिनवादी दर्शन रुसका लागि मात्र होइन विश्वकै लागि सार्वभौम रहेको छ । कतिपय अवसरवादीहरुले लेनिनवादी युग समाप्त भयो भनेर भ्रम फैलाउन खोजका छन् । त्यसप्रति सतर्क रहन जरुरी छ । आजको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा लेनिनवादको औचित्य झन बढेर गएको छ ।
    •  
    •  लेनिनवादलाई माक्र्सवाद र माओवादका बीचको एक महत्वपूर्ण सैद्धान्तिक कडीका रूपमा बुझ्नु पर्दछ र लेनिनवादी दर्शनले पनि ठीक यही कडीको काम गर्दछ ।