११ असार,रूपन्देही । काठमाडौं महानगरपालिकाको नगरसभामा सोमबार नीति तथा कार्यक्रममाथिको छलफलका बेला मेयर बालेनले टिप्पणीप्रति नगर सभा सदस्यहरुले आक्रोश व्यक्त गरेका छन् । । स्वतन्त्र उम्मेदवारी दिएर ठूलो मतान्तरमा कांग्रेस, एमालेका उम्मेदवारलाई हराउँदै मेयर जितेका बालेनले सम्भवतः पहिलोपल्ट शक्तिशाली प्रतिपक्षको सामना गर्नुपर्यो ।
यसअघि पनि बालेनको शब्द र शैलीमाथि वडाध्यक्षहरुबाट छिटफुट आलोचना नभएका होइनन्, तर अहिले नीति तथा कार्यक्रममाथिको छलफलका बेला वडाध्यक्षहरुलाई बालेनले पार्टीगत रुपमै गरेको टिप्पणीप्रति काठमाडौैं महानगरपालिकाका नगर सभा सदस्यहरुले आक्रोश व्यक्त गरेका हुन् । त्यो आक्रोश दलगत रुपमै व्यक्त भयो ।
राष्ट्रिय सभागृहमा भएको नगर सभामा नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत समाजवादीका जनप्रतिनिधिले मेयर बालेनको फेसबुक स्टाटसप्रति असन्तुष्टि जनाएका हुन् । बालेनले दुई साताअघि फेसबुकमा वडाध्यक्षहरुलाई कांग्रेस र एमालेको धङधङी बोकेर नआउन चेतावनी दिएका थिए ।