News Portal

मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज चट्याङसहित वर्षा

जनादेश संवाददाता२०८१ श्रावण १७
२६ पटक

१७ साउन,रुपन्देही । मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तथा मधेस प्रदेशका थोरै ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।

महाशाखाकाअनुसार रातिमा भने देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा तथा मधेस र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाले प्रायजसो रातको समयमा पानी बढी परेको मौसमविद रोजन लामिछानेले बताउनुभयो ।

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै ओखलढुङ्गाको मानेभञ्ज्याङमा ६५ दशमलव ८ मिलिमिटर पानी परेको छ । काठमाण्डौ उपत्यकासहित अरु ठाउँमा भने फाट्टफुट्ट मात्रै पानी परेको छ । आज राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।