![](https://janaadesh.com.np/wp-content/uploads/2024/11/dis-home-250.250-DH-2.gif)
![](https://janaadesh.com.np/wp-content/uploads/2024/11/samridhi-jewellers.gif)
![](https://janaadesh.com.np/wp-content/uploads/2024/11/laxmi.gif)
६ असार, रूपन्देही। रूपन्देहीको तिलोत्तमा नगरपालिकाले दोस्रो नगर सभाको पाँचौं अधिवेशनमा कृषि, शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई प्राथमिकतामा राखेर ५ असारमा नीति तथा कार्यक्रम नगर सभामा प्रस्तुत गरेको छ । कार्यक्रममा नगर प्रमुख रामकृष्ण खाणले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा कृषिलाई पहिलो प्राथमिकतामा राखिएको छ ।
प्राङ्गारिक खेती प्रणालीलाई प्रबद्र्धन गर्न प्राङ्गारिक मल र जैविक विषादी प्रयोगमा मापदण्ड बनाइ अनुदान दिइने, गहुँ, मकै, तरकारी बिउँ, फलफूलका बिरुवा, घाँसका बिउँ, साना सिंचाइ, फूलखेती, व्यावसायिक तरकारी खेती, बाली तथा पशु बीामा दिएको अनुदानलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । तिलोत्तमा १० स्थित तिलोत्तमा उद्योग ग्रामलाई शीघ्र निर्माण सम्पन्न तथा सञ्चालन गर्न प्रदेश सरकार र संघ सरकारसँग पहल गरिने जनाइएको छ ।
तिलोत्तमा १४ मा पशु हाटबजार स्थापना गरी सञ्चालन,प्रधानमन्त्री रोजगार कार्यक्रमलाई नगरक्षेत्र भित्रका सम्पदा संरक्षणका कार्यमा आबद्ध गरिने, उद्यम ज्ञान रोजगार तथा सूचना प्रविधि मेला सञ्चालन गरिने, महिला तथा फरक रूपमा सक्षकहरूले मात्र सञ्चालन गरेका लघु उद्यमलाई व्यवसाय करमा ७५ प्रतिशत छुट दिइने जस्ता प्रोत्साहन कार्यक्रममा समेटिएको छ ।
तिलोत्तमा नगरपालिकालाई घरमा सुत्केरी शून्य पालिका घोषणा गरी मातृ मृत्युदरलाई शून्यमा झारिने, सम्पूर्ण स्वास्थ्य संस्थामा स्तनपान कक्ष निर्माण गरिने, आनन्दवन र सेमरा बजार स्वास्थ्य चौकीबाट भिडियो एक्सरे सेवा नगरवासी गर्भवती तथा सुत्केरी महिलाहरूलाई निःशुल्क गरिने भएको छ ।
त्यस्तै अति विपन्न, असाहय, एकल महिला, सूचीकृत रोगी पूर्ण अपांगता भएका व्यक्तिहरूको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिइएको छ । खेलकुदतर्फ प्रत्येक विद्यालयमा खेलकुद शिक्षक व्यवस्था, शिक्षकहरूलाई खेलकुद सम्बन्धी तालिमको व्यवस्था र तिलोत्तमा म्याराथुन कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।
आगामी शैक्षिक सत्रदेखि नगर क्षेत्रमा एक महिला विद्यालय सञ्चालन गरिने र पढ्दै कमाउँदै कार्यक्रम लागू गरिने छ भने आगामी आवमा पनि गर्भवतीसँग उपमेयर कार्यक्रमलाई निरन्तरता दिइएको छ । नगर प्रमुख शैक्षिक सुधार कार्यक्रम लागू गरिने, नगरभित्र टिनको छानो भएका सामुदायिक विद्यालयमा फल्स सिलिङ राखिने, विद्यार्थी करियर गाइडेन्स, एक विद्यालय एक सिर्जनशील कार्यक्रम, सिर्जनशील शुक्रबार कार्यक्रम, च्यालेन्ज फण्ड, अन्वेषण तथा नवप्रवर्तन कार्यक्रमलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
![](https://janaadesh.com.np/wp-content/uploads/2024/11/machapurche-bank.gif)
![](https://janaadesh.com.np/wp-content/uploads/2024/11/Global-250x250-Online-Khabar1.png)