लक्ष्मण ज्ञवाली
“कता जाँदैछस हँ चतुर ?”
पछाडिबाट कसैले सोधेजस्तो लाग्यो उसलाई ।
जूनको टहटह उज्यालोमा पछिल्तिर फर्केर हेर्यो
तर कसैलाई देखेन । “यस्तो मध्यरातमा कतै भूत पो हो कि ?” एक मनले यस्तो शङ्का गर्यो ।
“जीवनदेखि बाक्क दिक्क भएर नफर्किने यात्रामा हिडेको मान्छेलाई भूतको के डर !त्यही गंगा किनार सम्म त हो ।”
दोश्रो मन फेरि बोल्यो।
“धत् लाछी, कायर तँ त ! जहाँ जान लागेको छस्,
मैले थाहा पाईसकें । तेरी अप्सराजस्ती श्रीमती, बामे सर्दै गरेकी छोरी , डाँडा माथीका जून जस्ता बा आमालाई अलपत्र पारेर हिड्दैछस् ?” परिस्थिति ले झपार्यो ।
“हात खुट्टा सग्लै भएरपनि भाग्न खोज्दैछस् नामर्द कहिंका “
-जिम्मेवारीले थेंचार्यो ।
सुरिएर अनन्त यात्रामा निस्कन चाहेको ऊ कर्कलो गलेझै फतक्कै भयो । आत्मल्गानीले लुछुप्पै भिज्यो । बिकारहरू बाहिरिए । उसको मन मष्तिस्कमा सकारात्मक तरङ्गहरू पैदा भए र पाइलाहरू घरतर्फ मोडिए। ऊ बौरियो र थाहा पायो।
“मलाई हरदम पछ्याई रहने दुखसुखका अगणित छायाँ मेरै पो रहेछन् कि त !”
तिलोत्तमा १
नीलगिरि पथ
शंकर नगर रूपन्देही ।