९ साउन , रुपन्देही । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले सपथ लिएका छन् । सोमबार नियुक्त भएका मुख्यमन्त्री आचार्यले बुधबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा सपथ लिएका हुन् । आचार्य एमाले संसदीय दलको उपनेता हुन् ।
बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले उनीहरुलाई शपथ गराएका हुन् । १२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय लिएका हुन् । तर कांग्रेसमा विवाद भएपछि अन्तिममा जन्मजय तिमिलसिनाको नाम काटिएको छ ।
एमालेबाट रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम सारु र दाङका सीता शर्मा मन्त्री बनेका हुन् । यसपटक मन्त्री दोहोरिनेमा ढकाल र पन्थी छन् । ढकाल यसअघि जोखबहादुर महराको नेतृत्वको सरकारमा सहरी बिकास मन्त्री पन्थी आन्तरिक मामिला मन्त्री थिए ।
पाल्पाका सारु र दाङकी शर्मा मन्त्रीमा नयाँ अनुहार हुन् । यसैगरी नेपाली कांग्रेसबाट ४ मन्त्रीले शपथ लिएका छन् । गुल्मीका धनेन्द्र कार्की, प्यूठानका रोज राणा, दाङका प्रचण्डविक्रम न्यौपाने, बाँकेका बादशाह कुर्मी मन्त्री बनेका हुन् । कांग्रेसबाट अहिले मन्त्री बनाइएका मध्ये रोज राण मात्रै यसअघि मन्त्री बनेका हुन् भने अरु सबै नयाँ हुन् ।
लोसपा, नाउपा, जनमत, जसपा, जसपा नेपाल, राप्रपाले सरकारलाई समर्थन गर्ने मौखिक सहमति जनाएपनि अहिलेसम्म सहभागी छैनन् तर उनीहरुका लागि २ मन्त्रालय खाली राखिएको छ । ८७ सदस्यीय प्रदेश सभामा अब माओवादीका १०, नेकपा एस, जनमोर्चा र स्वतन्त्रका एक एक गरी १३ सांसद मात्रै विपक्षमा रहने भएका छन् ।
सपथमा एमाले संसदीय दलका नेता लिला गिरी भने अनुपस्थित भए । दलको नेतालाई रोकेर उपनेता आचार्यलाई पार्टी महासचिव शंकर पोखरेलको जोडबलमा मुख्यन्त्री बनाइएपछि गिरी रुष्ट बनेका छन् ।