२४ असार, रुपन्देही । सञ्चित कोषमा रकम कम भएको भन्दै लुम्बिनी प्रदेश लेखा नियन्त्रकको कार्यालयले बजेट खर्च रोक्का गरेको छ । लेखा नियन्त्रकको कार्यालयले प्रदेशभरका लेखा इकाइ कार्यालयहरुलाई पत्र लेख्दै रकम निकासा नगर्न भनेको छ ।
प्रदेश लेखा नियन्त्रक दीपक ज्ञवालीले मातहतका इकाइलाई परिपत्र र आर्थिक मामिला तथा योजना मन्त्रालयलाई बोधार्थ दिँदै प्रदेश सञ्चित कोषमा रकम न्यून भएकाले आफ्नो स्वीकृति बेगर खर्चको रकम निकासा नगर्न अनुरोध गरेका छन् ।
यससँगै सरकारी निकायका निर्माणका काम गरेका निर्माण व्यवसायीको करोडौं भुक्तानी रोकिएको छ । निर्माण व्यवसायीको दावीअनुसार प्रदेशभरका निर्माण व्यवसायीले सरकारबाट करिब १० अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।
गत आर्थिक वर्षको अन्तिम महिना असारमा ५ अर्ब बढी बजेट खर्च गरेकोे लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ४ महिना भने ३ अर्ब ७६ बजेट खर्च गरेको छ ।