News Portal

  • लैङ्गिक अनुपात खतराउन्मुख : हरेक १०० बालिकाको जन्म हुँदा ११२ जना बालक जन्मिए

    जनादेश संवाददाता२०८१ श्रावण २५
    ५ पटक

    २६ साउन, रुपन्देही ।  राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार राष्ट्रिय जनगणनाको बालबालिका सम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ । जसअनुसार हाल लैङ्गिक अनुपात खतराउन्मुख अवस्था देखिएकाे हो । हाल देशभर ९८ लाख ६९ हजार ५८३ जना बालबालिका (० देखि १७ वर्षसम्म) छन् । तर बालकको तुलनामा बालिकाको संख्या थोरै छ । जनगणना पछिकाे एक वर्षको अवधिमा लैङ्गिक अनुपातः ११२ रहेको छ । हरेक १०० बालिकाको जन्म हुँदा ११२ जना बालक जन्मिएका छन् ।

    नेपालमा पछिल्लो लैङ्गिक अनुपात खतराउन्मुख देखिएको छ । यसले भोलिका दिनमा लैङ्गिक अनुपात बिग्रने र विवाहका लागि जोडी नपाउनेदेखि प्राकृतिक नियम नै प्रभावित हुनसक्ने जानकारहरु बताउँछन् ।

    ‘विश्वभर मृत्युदर महिलाको तुलनामा पुरुषको धेरै हुन्छ, त्यसकारण लैङ्गिक अनुपात १०५ सम्म सही मानिन्छ,’ कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी डा. हेमराज रेग्मी भन्छन्, ‘नयाँ जन्ममा ११२ को लैङ्गिक अनुपात खतराउन्मुख अवस्था हो ।’

    समग्र जनसंख्यामा भने पुरुषको तुलनामा महिला धेरै छ । २०७८ सालको जनगणना अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६९ हजार ५८३ छ । यसमा पुरुषको तुलनामा महिलाको जनसंख्या ६.५ लाख धेरै छ ।तर बालबालिकाको मात्र प्रवृत्ति अध्ययन गर्दा बालिकाको तुलनामा बालक धेरै छन् ।