७ पुस, काठमाडौं । वीर अस्पतालमा प्राविधिक समस्या आउँदा ओपीडी टिकट वितरण प्रभावित भएको छ । टिकट लिनका लागि बिहानैदेखि लाइनमा बसे पनि टिकट नपाएको बिरामीहरुले गुनासो गरेका छन् ।
अनलाइनखबरको सम्पर्कमा आएका एक बिरामीले घण्टौंदेखि लाइन बसिरहँदा पनि टिकट नपाएको बताए ।
वीर अस्पतालका सूचना अधिकारी सिताराम खड्काले आज बिहानैदेखि सर्भर डाउन भएकाले टिकट वितरणमा समस्या आएको स्वीकार गरे । तर बिरामीहरुलाई यत्तिकै नफर्काएको उनले बताए ।
‘सर्भर डाउन भएकाले आज फ्रिमा ओपीडी टिकट वितरण गरिएको छ,’ उनले भने, ‘लाइनमा बसेकाहरुलाई टिकटमा छाप हान्दै पठाउँदै गरेका छौं ।’ डाक्टरहरुले बिरामी जाँच्न समेत सुरु गरिसकेको उनले बताए ।
नेपालकै जेठो वीर अस्पतालमा सर्भर डाउन हुने र सेवा प्रभावित हुने समस्या समान्यजस्तै भइसकेको छ । यसबाट बिरामीहरु मर्कामा पर्दा पनि दीर्घकालीन रुपमा समस्या समाधान हुन सकेको छैन ।