७ साउन, रुपन्देही । सर्लाहीमा पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ। सर्लाहीको चन्द्रपुर गाउँपालिका-१ रतनपुरस्थित घरको कोठाभित्र ८० वर्षीय रायको आइतबार राति हत्या भएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी दीपक श्रेष्ठका अनुसार उनको हत्या भएको खबर आइतबार राति १ बजे प्रहरीसमक्ष पुगेको थियो। घटनास्थल पुगेको प्रहरीले उनलाई कोठाभित्र मृत अवस्थामा भेटाएको थियो। डिएसपी श्रेष्ठका अनुसार रायको टाउको धारिलो हतियार प्रहार भएको देखिएको छ। उनको टाउकोको बायाँ भागमा चोट छ।सोमबार बिहान प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुख पनि घटनास्थल पुगेका छन्। अनुसन्धानका लागि तालिमप्राप्त कुकर पनि परिचालन गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए।
मन्त्री रायको घरमा काम गर्ने रामउजैन रायका अनुसार तीनजना व्यक्ति उहाँलाई भेट्न राति घर आएकोमा उनीहरू त्यही सुतेका थिए । ‘तीन जना थिए । तिमी जाऊ म कुरा गर्छु,’ मन्त्री रायले आफूलाई त्यति भनेर भित्र गएको बताउँदै रामउजैन भन्नुहुन्छ, ‘मलाई सवा १२ बजे छोराले मलाई खबर गरेपछि म आएँ ।’ मन्त्री रायसँग सुतेका भनिएका तीनैजना हत्या पश्चात् फरार रहेको प्रहरीको भनाइ छ ।
आइतबार दिउसो दुई बजेदेखि आठ बजेसम्म मन्त्री राय र आफू सँगै रहेको रामउजैन बताउनु हुन्छ । ‘इन्द्र ठाकुरको आमा बित्नु भएको छ । गाउँमा त्यहाँबाट भोज खाएर भन्नु भयो कि तिमी जाऊ,’ रामउजैनले भन्नुभयो, ‘मैले भने कि- काका सँगै जाऊ कि, के गरौँ ?’ उहाँले पर्दैन तिमी जाऊ भनेपछि आफू घर गएको त्यसपछि उक्त घटना घटेको बताउनु भयो ।
८० वर्षीय रायको चन्द्रनगर-१ रतनपुरस्थित रायकै घरमा हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । घट्नाको जानकारी पाएलगत्तै जिल्ला तथा प्रदेश प्रहरी कार्यालयबाट प्रहरी अनुसन्धानमा जुटेको हो ।