साउन १ रुपन्देही। साउन १ गते विधिवत् रूपमा लुतो फालिएपछि हिलो मैलोको काम सकिएको र बर्खाभरि काममै व्यस्त हुँदा शरीर सफा गर्न नभ्याएकाले साउन महिनालाई नुहाइधुवाइको महिनाको रूपमा पनि लिने गरिन्छ । साउनमा विभिन्न रंग समायोेजनको महिना । साउनमा अधिकांश महिलाका हातमा मेहन्दी र रातो, हरियो, पँहेलो चुराले सजिएको हुन्छ । नेपाली परम्पराअनुसार साउनलाई विशेष महत्वको महिना मानिन्छ ।
सरसफाइका साथै साउन महिनामा महिलाहरूले हरियो लगाउने गर्छन् जसलाई धार्मिक पाटोसँग पनि जोड्ने गरिएको छ । हिन्दु धर्मग्रन्थका अनुसार साउनमा माता पार्वतीले पति महादेवलाई खुसी बनाई सौभाग्य प्राप्त गर्न हरियो, रातो र पहेँलो चुरा, पोते लगाएको लोककथन छ ।
हरियो रंगलाई धर्मशास्त्रले सौभाग्यको रंग भनेर वर्णन गरेको छ । भगवान शिवलाई जल अर्पण गरेर प्रकृतिसँग नजिक हुने अवसर भएका कारण यो महिनामा हरियो रंगको विशेष महत्व हुन्छ । साउनमा हरियो लगाउँदा शिव भगवान खुसी हुने धार्मिक विश्वासका कारण हरियो रंग लगाइन्छ ।
त्यसैले विवाहित महिलाले सौभाग्य पतिको रूपमा रातो, हरियो र पहेँलो चुरा लगाउने गर्दछन् भने अविवाहित युवतीले पनि राम्रो वर प्राप्त होस् भन्ने उद्देश्यले हरियो र पहेँलो चुरा लगाउने प्रचलन चलिआएको छ ।यी तीन रङका चुरा र पोतेले प्रकृतिसँग नजिक गराउने र पहेँलोले भगवान् शिव प्रतिको त्याग देखाउने भएकोले साउन महिनामा हरियो, रातो र पहेँलो कपडा, र चुरा लगाउने चलन रहेको छ ।