News Portal

  • रुसी तेलमा अमेरिकाले घोषणा गरेको प्रतिबन्धको अर्थ र त्यसले पार्ने असर

    जनादेश संवाददाता२०८२ कार्तिक १०
    २२४ पटक

    संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले रुसलाई दुई ठूला तेल कम्पनीहरूविरुद्ध “व्यापक” नयाँ प्रतिबन्धहरू घोषणा गरेका छन्।

    युक्रेनसँग शान्ति सम्झौताका लागि मस्कोमाथि थप दबाव सिर्जना गर्ने प्रयासस्वरूप उनले रुसमाथि थप प्रतिबन्ध घोषणा गरेका हुन्।

    युक्रेनमा रुसले गरेको अतिक्रमणलाई लिएर ट्रम्प प्रशासनले मस्कोमाथि गरेको यो पहिलो प्रत्यक्ष हस्तक्षेप हो। त्यही भएर भूराजनीतिक हिसाबले यसलाई एउटा महत्त्वपूर्ण क्षणको रूपमा हेरिँदै छ।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग बुडापेस्टमा हुने भनिएको शिखर बैठक अनिश्चितकालका लागि स्थगित भएको बताएको एक दिनपछि ट्रम्पले नयाँ प्रतिबन्धको घोषणा गरेका हुन्।

    बुधवार मात्रै रुसले युक्रेनमा चर्को बमबारी गर्दा बालबालिकासहित कम्तीमा सात जनाको मृत्यु भएको छ।

    अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले “पुटिनले व्यर्थको युद्ध अन्त्य गर्न अस्वीकार गरेका कारण नयाँ प्रतिबन्धहरू आवश्यक परेको” बताएका छन्। उनले प्रतिबन्धमा परेका तेल कम्पनीहरूले क्रेमलिनको “युद्ध मेसिन”लाई लगानी गरिरहेको टिप्पणी गरेका छन्।

    “तत्काल युद्धविरामका लागि अब हत्या रोक्ने समय आएको छ,” उनले एक विज्ञप्तिमार्फत् भनेका छन्।

    अमेरिकी राष्ट्रपति कार्यालय ओभल अफिसमा बुधवार नेटो महासचिव रटलाई आफ्नो छेउमा राखेर बोल्दै ट्रम्पले शान्ति स्थापनाका लागि गम्भीर नभएको भन्दै पुटिनको आलोचना गरे। प्रतिबन्धहरूले युद्ध अन्त्य गराउने आफ्नो प्रयासमा मद्दत गर्ने अपेक्षा उनले व्यक्त गरेका छन्।

    “हामीले लामो समय प्रतीक्षा गर्‍यौँ। मेरो बिचारमा अहिले त्यो समय आएको छ,” ट्रम्पले भने।

    नेटो महासचिव रटले पनि प्रतिबन्ध लगाउने कदमको प्रशंसा गरेका छन्। यसले पुटिनमाथि “थप दबाव दिइरहेको” उनले बताए।

    “तपाईँले पनि दबाव बढाउनुपर्छ आज उनले (ट्रम्प) त्यही गरेका हुन्,” रटले भने।

    यसरी बन्यो प्रतिबन्धको पृष्ठभूमि

    रुसी तेल प्रशोधन केन्द्र

    तस्बिर स्रोत,Reuters

    शान्ति सम्झौताका लागि अमेरिका र रुसले अघि सारेका प्रस्तावहरूमा ठूलो भिन्नता रहेको हालै सार्वजनिक भएको थियो। अहिले युक्रेनसँग अग्रपङ्क्तिमा भइरहेको युद्ध रोक्न मस्कोले अस्वीकार गर्नु पनि शान्ति सम्झौताको पहलले उपलब्धि हासिल नगर्नुको एउटा कारण रहेको ट्रम्पले सङ्केत गरेका छन्।

    गएको साता यूकेले पनि हाल अमेरिकी प्रतिबन्धमा परेका कम्पनीहरूमाथि उस्तै खाले प्रतिबन्ध लगाएको थियो।

    “रुसी तेलका लागि विश्व बजारमा ठाउँ छैन,” यूकेका चान्सलर रेचल रिभ्सले प्रतिबन्ध घोषणाका क्रममा भनेका थिए।

    यूकेको घोषणापछि प्रतिक्रिया दिँदै लन्डनस्थित रुसी दूतावासले आफ्नो देशका प्रमुख ऊर्जा कम्पनीहरूलाई निशाना बनाउँदा विश्वभरि नै इन्धन आपूर्ति प्रभावित हुने र मूल्य बढ्ने बताएका थिए।

    रोसनेफ्ट र लुकोएल तेल कम्पनीहरूले प्रति दिन ३१ लाख ब्यारेल तेल निर्यात गर्दै आएका छन्। यूकेको एक सरकारी आकलन अनुसार, रुसभरि हुने तेल उत्पादनको करिब आधा हिस्सा रोसनेफ्टले उत्पादन गर्दै आएको छ। यो कम्पनीले उत्पादन गर्ने तेल विश्वभरि हुने उत्पादनको छ प्रतिशत हो।

    रुसी अर्थतन्त्रमा पर्न सक्छन् यस्ता प्रभाव

    रुसले निर्यात गर्ने प्रमुख उत्पादनहरूमध्ये तेल र ग्यासले ठूलो हिस्सा ओगटेको छ। मस्कोसँग तेल किन्ने सबैभन्दा ठूला ग्राहकहरू चीन, भारत र टर्की लगायतका देश छन्। ट्रम्पले क्रेमलिनमाथि आर्थिक दबाव बढाउन रुसी तेलको खरिद रोक्न यी देशहरूलाई पनि आग्रह गरेका छन्।

    यूकेकी विदेशमन्त्री इभेट कूपरले पनि ट्रम्पको कदमको प्रशंसा गरेकी छिन्।

    युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लाइनले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै “शान्ति प्रक्रियाका लागि रुसमा प्रतिबद्धता अभाव” रहेको बताएकी छन्।

    बुधवार युरोपेली सङ्घले अनुमोदन गरेको नयाँ प्रतिबन्धको पनि उनले प्रशंसा गरेकी छन्।

    यसै वर्षको आरम्भमा यूके र अमेरिकाले रुसका प्रमुख ऊर्जा कम्पनीहरू ग्याजप्रोम नेफ्ट र सुर्गुट्नेफ्टोग्यासलाई पनि प्रतिबन्ध लगाएका थिए।