जनादेश संवाददाता२०८१ असार २०
१९ असार, रूपन्देही । भारतको उत्तरप्रदेशमा धार्मिक मेलामा भागदौड हुँदा मृत्यु हुनेको संख्या ११६ पुगेको छ । मृत्यु हुनेमा धेरैजसो महिला र बालबालिकाहरु छन् । यो घटना हाथरसको फुलरई गाउँमा मंगलबार भएको थियो ।
गाउँमा भोले बाबा भनिने साकार हरि बाबा नामका एक सन्तको सहभागितामा सत्संग आयोजना गरिएको थियो । उनी कार्यक्रमस्थलबाट फर्किने क्रममा उनलाई छुन चाहनेहरु दौडिन थाल्यो । त्यही क्रममा भागदौड मच्चियो र मानिसहरु किचिए ।
स्वास्थ्यकर्मीहरुका अनुसार शवहरु यति धेरै भए कि पोष्टमार्टम गर्नसमेत हम्मेहम्मे पर्यो । घटनास्थलको भिडियो हेर्दा अवस्था निकै हृदयविदारक र भयावह देखिन्छ । बीबीसीका अनुसार मृत्यु हुनेमा पुरुष, महिलासँगै बालबालिका पनि छन् । के कारणले भागदौड भएको हो अझै प्रष्ट पारिएको छैन ।