News Portal

  • २ सय बढीले रोजगारी पाएका डेल्टा कम्प्लेक्स जलेर करिब ५० करोडको क्षति

    जनादेश संवाददाता२०८१ असार ८
    १६ पटक

    ७ असार,रूपन्देही । बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा भएको आगलागीबाट करिब ५० करोडको क्षति भएको छ ।  आगलागीबाट त्यहाँ रहेका सबै सामान जलेर नष्ट भएका छन । बिहीवार साँझ साढे ६ बजेबाट लागेको आगो शुक्रबार राति २ बजेतिर नियन्रणमा आएको थियो।

    ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार मोटर ग्यारेज, दुईवटा पेट्रोल पम्प र बाक्लो बस्तीको बीचमा रहेको डेल्टा कम्प्लेक्सबाट अन्यत्र आगो फैलिनबाट जोगिएपनि कम्प्लेक्स भने पुर्ण रुपमा ध्वस्त भएको छ।

    ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितका अनुसार कम्प्लेक्समा संचालित सम्पुर्ण पसल र सामानहरु झण्डै आठ घण्टा लागेको आगोले खरानी भएका छन्।

    आगलागी पछि बुटवल उपमहानगरपालिका, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक नगरपालिका, नवलपरासीका बर्दघाट र परासी, कपिलवस्तुको वाणगंगा तथा नेपाल आयल निगम भलवारी र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत गरि १३ वटा दमकल आगो नियन्त्रणमा खटिएका थिए। कम्प्लेक्समा मार्टका गोदाम समेत रहेकोले नियन्त्रणमा लिन कठिन भएको प्रहरीले जनाएको छ।

    फलाम र प्यानलबोर्डबाट बनेको चारतल्ले भवन पूर्ण रुपमा जलेर नष्ट भएको छ। चारैतर्फ प्यानलबोर्ड र शिशा जडान गरि निर्माण गरिएको कारण कम्प्लेक्सको चौथो तल्लाबाट सुरु भएको आगो एकैपटक सबै तलामा फैलिएको थियो। कम्प्लेक्समा संचालित विभिन्न पसल तथा फर्महरुमा २ सय बढीले रोजगारी पाएका थिए। आगलागी कहाँबाट शुरु भयो र कति क्षति भयो भन्ने पुर्ण विवरण नआईसकेपनी ५० करोड बढिको क्षति भएको डेल्टा कमप्लेक्सका संचालक घनश्याम पाठकले जानकारी दिए।