
९ कात्तिक, काठमाडौं । राष्ट्रिय सभाको बैठक सिंहदरबार परिसरभित्र रहेको कृषि समितिको हलबाट सञ्चालन सल्लाह भइरहेकाे छ ।
नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जेनजी आन्दोलनकारीले आगजनी गरेर क्षति पुर्याएको र नयाँ संसद भवन नबनीसकेकाले राष्ट्रिय सभा बैठकका लागि कृषि समितिको हलबाट बैठक सञ्चालनको गृहकार्य अघि बढाइएको हो ।
सिंहदबार भित्र निर्माणाधीन नयाँ संसद भवन बनिनसकेकाे हुनाले याे निर्णय गरिएकाे कुरा ,’ संघीय संसद सचिवालयका प्रवक्त एकराम गिरीले भने, ‘२०७२ सालको भूकम्पले क्षतिग्रस्त सिंहदरबार भित्रको पुरानो प्रतिनिधि सभाको भवनमा पनि प्रबलीकरणको काम भइरहेको छ । त्यसैले बढी उपयुक्त कृषि समितिको हल नै हुने देखिन्छ ।’
‘नयाँ संसद भवन बनेपछि सर्न परिहाल्छ । त्यसैले कृषि समितिको हललाई सकेसम्म न्यून लगानीमा कसरी काम चलाउने भन्ने विषयमा छलफल भइरहेको छ,’ प्रवक्ता गिरीले भने ।
२३ र २४ भदौको जेनजी आन्दोलनपछि २७ भदौमा प्रतिनिधि सभा विघटन भएको थियो । सरकारले ताजा जनादेशका लागि आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गराउने निर्णय गरेको छ । स्थायी सभा भनिने राष्ट्रिय सभा भने कायमै छ ।
राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल अन्तर व्यवस्थापिक संघ (आईपीयू)को १५१ औं महासभामा भाग लिन स्विटजरल्याण्डको जेनेभा जानुअघि राष्टिं«य सभा बैठक कहाँ बस्ने भन्ने विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका थिए । अध्यक्ष दाहाल आज स्वदेश फर्किएपछि पनि यस विषयमा थप छलफल गर्ने उनको सचिवालयले जनाएको छ ।









