News Portal

  • विशेष अदालतले ६ महिना भन्दा पुरानो सबै मुद्दाको किनारा लगायाे

    जनादेश संवाददाता२०८१ असार ३२
    ३ पटक

    ३१ असार, रुपन्देही । विशेष अदालतले ६ महिना भन्दा पुरानो सबै मुद्दाको किनारा लागेको बताएको छ । सोमबार पत्रकार सम्मेलन आयोजना गरी विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरले भने ‘हामीकहाँ अहिले ६ महिना नाघेका मुद्दा छैनन् । विशेष अदालतलाई स्मार्ट र नमुना अदालत बनाउन खोजेका छौं । त्यो अनुसारको काम भइरहेको छ ।’

     २०८० असार मशान्तमा ३५९ वटा पुराना मुद्दा रहेको विशेष अदालतमा अहिले ६९ वटामात्रै मुद्दा छन् । विशेष अदालतले चालु आर्थिक वर्ष २०८०/८१ मा दर्ता भएका २१६ वटा मुद्दासमेत फैसला गरेर पुराना मुद्दाको संख्या उल्लेख्य रुपमा घटाएको हो ।

    १८ मंसिर, २०८० देखि विशेष अदालतमा टेकनारायण कुँवरको नेतृत्वमा न्याययाधीशहरुको नयाँ टोली आएको थियो । त्यसमा न्यायाधीश डा. खुसीप्रसाद थारु भने पहिलेदेखि नै कार्यरत थिए । आफूहरुको टिम आएपछि पुराना मुद्दालाई प्राथमिकता दिएर सुनुवाइ र फैसला गरेको कुँवरले बताए । उनीहरु आउँदा विशेष अदालतमा ३२८ वटा मुद्दा बाँकी थिए, जसमध्ये ७४ वटा मुद्दा त दुईवर्ष नाघेका थिए ।

    फैसला भएका ५०६ वटा मुद्दामा १५९ वटा मुद्दामा आंशिक ठहर भएका छन् । मुद्दा लागेकामध्ये सबै आरोप ठहर नभएका मुद्दालाई विशेष अदालतले आंशिक ठहर भन्ने गरेको छ । सबै आरोपितहरु दोषी ठहर भएका मुद्दा १०४ वटामात्रै छन् भने २४३ वटा मुद्दामा कुनै पनि आरोपितहरु दोषी ठहर भएनन् । विशेष अदालतमा पेश भएकामध्ये ४८ प्रतिशत मुद्दामा मात्रै आरोपितहरु दोषी ठहर भएका छन् ।