२४ असार, रुपन्देही । सरकारले ‘ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) नियमावलीमार्फत सन्तान वा हकवालाले मासिक रूपमा आम्दानीको १० प्रतिशत रकम आफ्नो बाबुआमालाई दिनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो । ज्येष्ठ नागरिकलाई आफ्ना सन्तानले आम्दानीको १० प्रतिशत रकम अनिवार्य दिनुपर्ने व्यवस्था कार्यान्वयनमा आएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तयार पारेको संशोधित नियमावली राजपत्रमा प्रकाशित भएसँगै सन्ततिले आम्दानीको १० प्रतिशत रकम आमाबाबुको बैंक खातामा जम्मा गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा आएको मन्त्रालयका सचिव दिनेश भट्टराईले जानकारी दिए ।
नियमावलीको नियम १७ पछि नियम १७ क थप गर्दै भनिएको छ, ‘ज्येष्ठ नागरिक ऐनको दफा ८ क को उपदफा १ बमोजिम ज्येष्ठ नागरिकको खातामा रकम जम्मा गर्न लगाउँदा नियमित पारिश्रमिक वा निवृत्तिभरण पाइरहेको वा स्वरोजगार, व्यापार, व्यवसाय वा अन्य कुनै स्रोतबाट आयआर्जन गरिरहेको सन्तान वा अन्य कुनै स्रोतबाट आयआर्जन गरिरहेका सन्तान वा नजिकको हकवालाबाट उसको आम्दानीको कम्तीमा १० प्रतिशत रकम मासिक रूपमा जम्मा गर्न लगाउनुपर्नेछ ।’
स्थानीय तहले निर्णय लिनुपूर्व ज्येष्ठ नागरिकको जीवनयापनका लागि तत्काल केहि गर्न आवश्यक देखेमा सम्बन्धित वडा अध्यक्षले अन्तरिम रुपका उसका सन्तान वा हकवालालाई परिस्थिति विचार गरी सम्बन्धित ज्येष्ठ नागरिकको बैंक खातमा निश्चित रकम जम्मा गर्न लगाउनुपर्ने व्यवस्था ऐनमा रहेको छ । जम्मा गर्नुपर्ने रकम बाबु आमासँगै बसेका वा कानून बमोजिम भित्र भइसकेका अवस्थामा समेत जम्मा गर्नुपर्नेछ ।